सुन्दरहरैँचा ।
सुकुना बहुमुखी क्याम्पसले आगामी वैशाख ६ र ७ गते (२०८२ साल) ‘Sustainability in Higher Education: Integrating Local and Global Knowledge’ शीर्षकमा पहिलो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलन आयोजना गर्न लागेको छ। क्याम्पस सभाकक्षमा आयोजित प्रेस मिटमार्फत सम्मेलनका बारेमा विस्तृत जानकारी दिइएको हो।
क्याम्पस संयोजक गणेशप्रसाद दहालका अनुसार, त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धनप्राप्त सुकुना बहुमुखी क्याम्पसले उच्चशिक्षामा दिगोपनसम्बन्धी बहस, ज्ञान आदानप्रदान र अनुसन्धान प्रवर्द्धन गर्ने लक्ष्यसहित यो सम्मेलन आयोजना गर्न लागेको हो। सम्मेलनमा नेपाल तथा भारत, थाइल्याण्ड, अमेरिका लगायतका देशहरूबाट विभिन्न विश्वविद्यालयका कुलपति, डीन, प्राध्यापक र विज्ञहरूको सहभागिता रहनेछ।
क्याम्पसको पहिचान
कोशी प्रदेशको अग्रणी शैक्षिक संस्था सुकुना बहुमुखी क्याम्पसले हाल स्नातक तथा स्नातकोत्तर तहका विविध शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। ४२०० भन्दा बढी विद्यार्थी अध्ययनरत यस क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट दुईपटक QAA प्रमाणपत्र प्राप्त गरिसकेको छ। आफ्नै स्वामित्वमा रहेको ४ विघा १५ कठ्ठा क्षेत्रफलमा क्याम्पसका सम्पूर्ण भौतिक संरचना रहेका छन्। विश्वविद्यालय अनुदान आयोगले यस क्याम्पसलाई ‘लीड क्याम्पस’को रुपमा समेत छनोट गरेको छ।
सम्मेलनको स्वरूप
दुई दिवसीय सम्मेलनमा ४८ वटा Concurrent Parallel Session, ९ वटा Keynote Speech, ९ वटा Plenary Speech, २ वटा कार्यशाला, १ वटा प्यानल डिस्कसन र २ वटा सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्।
प्रमुख वक्ताहरूमा अमेरिका, भारत, नेपाल र थाइल्याण्डका विश्वविद्यालयका उच्चपदस्थ शैक्षिक व्यक्तित्वहरूको उपस्थिति रहनेछ।
मुख्य वक्ताहरू (Keynote Speakers) मा:
माइक हार्कर, अमेरिकी राजदूतावास
प्रा.डा. नारायणचन्द्र तालुकदार, उपकुलपति, आसाम डाउनटाउन युनिभर्सिटी
प्रा.डा. प्रतापसिंह चौहान, श्री गोविन्द गुरु विश्वविद्यालय, भारत
प्रा.डा. तीर्थराज खनियाँ, पूर्व उपकुलपति, त्रि.वि.
प्रा.डा. शारदा थपलिया, कृषि तथा वन विश्वविद्यालय
प्रा.डा. विजु थपलिया, उपकुलपति, पूर्वाञ्चल विश्वविद्यालय
प्रा.डा. महानन्द चालिसे, डीन, त्रि.वि. व्यवस्थापन संकाय
प्रा.डा. बालचन्द्र लुईँटेल, डीन, काठमाडौं विश्वविद्यालय
प्रा.डा. लक्ष्मण ज्ञवाली, नेल्टा अध्यक्ष
Plenary Speakers र Panel Discussion
प्रा.डा. बासुदेव काफ्लेले सञ्चालन गर्ने प्यानल डिस्कसनमा अन्तरदेशीय विज्ञहरूको सहभागिता रहनेछ। विषय “Call for collaboration: Can Discourse Across Disciplines Drive Sustainability in Higher Education?” मा केन्द्रित रहनेछ।
अवधारणापत्रको सहभागिता
सम्मेलनका लागि आयोजक समितिले आह्वान गरेका अवधारणापत्रहरू मध्ये निर्धारित समयभित्र ६७ वटा सारांश प्राप्त भइसकेका छन्।
सहभागी र व्यवस्थापन
सम्मेलनमा विभिन्न देशका ३०० जना भन्दा बढी शिक्षाविद्, प्राध्यापक र अनुसन्धानकर्ता सहभागी हुने अपेक्षा गरिएको छ। कार्यक्रम व्यवस्थापनका लागि क्याम्पसले विभिन्न उपसमितिहरू गठन गरी तयारी तीव्र पारेको छ।
आर्थिक पक्ष
सम्मेलन सञ्चालनका लागि आवश्यक आर्थिक स्रोत प्रदेश सरकार, विभिन्न पालिकाहरू, विश्वविद्यालय अनुदान आयोग, निजी क्षेत्र, सहभागी शुल्क तथा क्याम्पसको आन्तरिक स्रोतबाट व्यवस्थापन गरिनेछ।
सम्मेलनसम्बन्धी थप जानकारी क्याम्पसको वेबसाइट www.sukuna.edu.np मा प्राप्त गर्न सकिनेछ।