कक्षा १२ सिभिल इन्जिनियरिङ तर्फका बिद्यार्थीहरुलाई सर्भे क्याम्प गराउँदै सुकुना माध्यमिक विद्यालय


सुन्दरहरैचा/ शिव भट्टराई भोजपुरे।

मोरंगको सुन्दरहरैंचा स्थित सुकुना माध्यमिक विद्यालयका कक्षा १२ का विद्यार्थीहरु यतिबेला गुरुहरु चारजना इन्जिनियर, दुईजना सव इन्जिनियर र एकजना एसिस्टान्ट इन्जिनियरको साथमा ७ दिने क्याम्पिंग सर्भेमा प्राक्टिकल गर्न व्यस्त छन् । क्याम्पिंग सर्भे यही कार्तिक २१ गतेदेखि २७ गतेसम्म आयोजना हुँदैछ । सुकुना माध्यमिक विद्यालयले चारजना शिक्षक, एकजना सुरक्षा गार्ड र खाना पनि फिल्ड मै खाने गरि विहान ६ बजेदेखि बेलुका ६ बजेसम्म प्राक्टिकल गराइरहेको छ।

क्याम्पिंग सर्भेमा कक्षामा विद्यार्थीहरुले पढेका विषयहरुलाई प्राक्टिकली कसरी गर्ने भनेर ज्ञान दिइने गरिएको छ । सुन्दरहरैंचास्थित बाघझोडा क्षेत्रमा सञ्चालन भइरहेको प्राक्टिकलमा विद्यार्थीहरुलाई इन्जिनियरिंगको काम गर्दा चाहिने मेसिनको जानकारी गराइन्छ । यस्तै ग्राउण्ड कसरी नाप्नेदेखि संरचनालगायतको विषयमा सिकाइन्छ । अहिले सञ्चालन भइरहेको क्याम्पिंग सर्भेमा सहभागी विद्यार्थीहरुलाई ६ वटा समूहमा विभाजन गरिएको छ ।

वास्तवमा कक्षा ९ देखि नै कक्षा १२ सम्मका विद्यार्थीले वर्षमा ७ दिन प्राक्टिकल वा व्यवहारिक शिक्षा लिनु पर्ने हुन्छ । चार जना शिक्षकहरुको समूहले यी ४८ जना विद्याथीहरुलाई घनिभूतरुपमा प्राक्टिकल गराइरहेको दिृश्य हो यो । भनिन्छ जबसम्म मानिस व्यवहारमा पर्दैन,तबसम्म उसले घरव्यवहार र व्यक्तिगत जीवन नै चलाउन सक्दैन । त्यसैगरी सिभिल इन्जिनियरिंग पढेका विद्यार्थीहरुका लागि पनि प्राक्टिकल वा व्यवहारिक ज्ञान एकदमै महत्वपूर्ण हुने शिक्षकहरु बताउछँन् ।सरकारको शिक्षा नीतिअनुसार कक्षा ९ देखि १२ सम्म सिभिल इन्जिनियरिंग कक्षा सञ्चालन भइरहेको छ । प्रत्येक वर्ष कक्षा ९ मा ४८ जना विद्यार्थी छनौट भएर एडमिशन गर्ने गर्छन् । यो विषयको अध्ययनअध्यापन गरेपछि सैद्धान्तिक ज्ञानको साथै प्राक्टिकल वा व्यवहारिक ज्ञान एकदमै महत्वपूर्ण हुने सिभिल इन्जिनियरिंग विभागका विभागीय प्रमुख सरोज भट्टराईले बताएका छन्।

यस्तै क्याम्पिंग सर्भेमा ब्रिज सर्भे र रोड सर्भेको प्राक्टिकल गर्नुपर्छ ।सुकुना माध्यमिक विद्यालय अन्तर्गत सिभिल इन्जिनियरींगतर्फ कक्षा १२ का विद्यार्थीहरुले ट्रोपोग्राफिकल म्याप, ब्रिज सर्भे र रोड सर्भेको प्राक्टिकल गर्नुपर्ने सबइन्जिनियर कृष्णराज पौडेलको भनाई छ। एक हप्तामा ५ दिन ट्रोपोग्राफिकल म्याप नापी नक्सा कसरी तयारी गर्ने भन्ने प्राक्टिकल गराइँदैछ । उक्त क्याम्पमा इन्जिनियर पोषराज खड्काले ८ हजार मिटर स्क्वायर क्षेत्रलाई म्यापमा कसरी उतार्ने भन्ने व्यवहारिक ज्ञान विद्यार्थीहरुलाई सिकाईने बताएका छन्।

सुकुना माध्यमिक विद्यालय विद्यार्थी विहानदेखि साँझसम्म खाना र खाजा फिल्डमै खाएर मिहीनेत गरेर प्राक्टिकल गरिरहेका छन् । आफूहरुले प्राक्टिकलमा सिकिरहेको विषय एकदमै प्रभावकारी लागेको केही विद्यार्थीहरुले प्रतिक्रिया दिएका छन् ।

वास्तवमा अहिलेको अवस्थामा व्यावहारिक, व्यावसायिक तथा सीपमूलक शिक्षा आर्जन गर्नमा विद्यार्थी उत्साहित देखिएका छन् । यसबाट देशले छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न सक्छ भन्ने आशा गर्न सकिन्छ । देश विकासको लागि उपयोगी भनेको प्राविधिक, व्यावहारिक तथा व्यावसायिक शिक्षा हो । राज्यले पनि सम्पूर्ण जनताको पहु‘चमा पुग्ने गरी प्राविधिक शिक्षाको विकासमा जोड दिनु आवश्यक छ ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x