योगेन्द्र योगी/
बिराटनगर : मोरङको रङगेली नगरपालिका-९ दोहमनाबाट नेपाली नक्कली नोट सहित १ जना महिलालाई बिहिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ।
उक्त स्थानमा नक्कली नोटको कारोबार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय रङगेलीबाट खटिएको प्रहरी टोलीले सुनवर्सी नगरपालिका-५ टकुवाकी ४० बर्षीया कुरेसा खातुनलाई ५ सय दरका १८ थान (नौ हजार) नेपाली नक्कली नोट सहित पक्राउ गरेको हो ।
नेपाली नक्कली नोट सहित पक्राउ परेकी खातुनको सम्बन्धमा प्रहरीले अन्य थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। यस्तै, सुनसरीको धरान उप-महानगरपालिका-२० बिष्णुपादुकाबाट ठुलो परिमाणमा लागूऔषध गाँजा सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।
लागुऔषध गाँजाको ओसार पसार भईरहेको भन्ने बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट बैशाख गएराती राती साँढे १ बजे खटिएको प्रहरी टोलीले को १ ज १८२१ नम्बरको गाडीलाई रोकेर चेकजाँच गर्दा उक्त गाडीमा लुकाई छिपाई राखेको ३ सय ३५ किलोग्राम गाँजा बरामद गरेको छ ।
गाडीबाट गाँजा बरामद भएसंगै गाडी चालक साँगुरीगढी गाउँपालिका-१० धनकुटाका २६ बर्षीय देउमान राई र ओसार पसारमा संलग्न सोही स्थानका २० बर्षीय निरज राई, २० बर्षीय मन्दिप राई र २८ बर्षीय मन कुमार राईलाई पक्राउ गरेको हो । लागुऔषध गाँजा सहित पक्राउ परेका उनीहरुको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।