लेटाङमा नीति निर्माणको नयाँ अभ्यास सुरु, विभिन्न पक्षसँग सुझाव माग


shiva

१० वैशाख २०८२, बुधबार 

लेटाङ । लेटाङ नगरपालिकाले नगरपालिकाको नीति निर्माणका क्रममा नयाँ अभ्यास सुरु गरेको छ । अघिल्ला वर्षहरुमा नगरसभा सुरु हुनु भन्दा केहिदिन अघि हतार–हतारमा नीति निर्माण हुने गरेकोमा नगरपालिकाले यसवर्षदेखि नयाँ अभ्यास सुरु गर्दै विषयगत समितिमार्फत नीति निर्माणको काम थालेको हो ।

नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२ । ०८३ को नीति निर्माणका लागि स्थानीय सरकार सञ्चालन ऐनमा व्यवस्था भए बमोजिम विषयगत समितिमा छलफल गरि नीति निर्माण प्रकृया अघि बढाएको छ । बजेट निर्माण गर्ने क्रममा ऐनमा व्यवस्था भए अनुसार नीति, कार्यक्रम र क्रियाकलापहरुबीच तादात्म्यता कायम गर्नकालागि विषयगत समितिमार्फत नीति निर्माण गर्न थालिएको नगर प्रमुख भूपेन्द्रकुमार लावतीले जानकारी दिनुभयो।

विषयगत समितिमार्फत नीति निर्माण गर्नुपर्ने पुरानै व्यवस्था भएपनि पहिलोपटक नीति तर्जुमा कार्याशाला सञ्चालन गरेर विषयगत समितिमार्फत नीति निर्माण गर्ने अभ्यास थालिएको उहाँको भनाइ छ ।नगरपालिकाले विषयगत समितिका संयोजक, सदस्य र सम्बन्धित शाखाका कर्मचारीहरु लगायतको सहभागितामा कार्यशाला सञ्चालन गरि आगामी आर्थिक वर्षको नीति निर्माण गरेको हो । नगरपालिकाले पहिलोपटक विषयगत समितिमा छलफल गरि नीति निर्माण गर्ने र सोहि नीति अनुशार बजेट तथा कार्यक्रम निर्माण गर्ने अभ्यास थालेको नगर उपप्रमुख कृष्णकुमारी निरौलाले जानकारी दिनुभयो । सहि नीति बनाएर नीति अनुशार बजेट तथा कार्यक्रम तयर गरेर अघि बढेको अवस्थामा बजेट कार्यान्वयनमा पनि सहज हुने उहाँको भनाइ छ ।

नगरपालिकाले समयतालिका नै निर्माण गरि संघीय र प्रदेश कानुनको अधिनमा रहि आवधिक योजना, गुरुयोजना, आयोजना वैंक, मध्यमकालिन खर्च संरचना तथा विभिन्न सूझावहरुका आधारमा आगामी आर्थिक वर्षको नीति निर्माण गरिरहेको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदीले बताउनुभयो । यसरी ऐनमा भएको व्यवस्था अनुशार नीति निर्माण गर्दा स्थानीय तह सँस्थागत क्षमता स्वमूल्यांकन लीजाको अंक वृद्धिभइ संघीय सरकारबाट आउने अनुदान समेत बढ्ने उहाँको भनाइ छ ।

नगरपालिकाको आर्थिक विकास समिति, सामाजिक विकास समिति, पूर्वाधार विकास समिति, वन वातावरण तथा विपद व्यवस्थापन समिति र सँस्थागत विकास तथा सुशासन समितिले आआफ्नो विषयसँग सम्बन्धित नीति निर्माण गरि कार्यपालिका वैठकमा पठाएका छन् ।नगरपालिको विभिन्न विषयगत समितिका संयोजकहरुले समेत पहिलोपटक विषयगत समितिमार्फत नीति निर्माणको काम थालिएको भन्दै यसले नगरपालिकाको नीति तथा बजेट कार्यान्वयनमा सहयोग पुग्ने बताएका छन् । आर्थिक विकास समिति संयोजक भूमबहादुर सूर्यमगर र लेखा समिति संयोजक तेजप्रसाद तिम्सिनाले जनप्रतिनिधि भएर आएको ८ वर्ष पुरा हुनै लाग्दा पहिलोपटक नीति निर्माण गर्न विषयगत समितिमा छलफल गरिएको भन्दै खुशी व्यक्त गर्नुभयो ।

नगरपालिकाले विषयगत समितिमा छलफल गर्नुका साथै सामाजिक सञ्जालबाट समेत नीति निर्माणका लागि नगरवासीसँग सुझाव माग गरेको छ । यस्तै नगरका लक्षित समूह, वडाका जनप्रतिनिधि र कर्मचारीहरुसँग पनि छलफल गरि सुझाव माग गरिएको छ । अब नगरमा रहेका विभिन्न सँघसँस्थाका प्रतिनिधिहरु र राजनीतिक दलका प्रतनिधिहरुसँग समेत छलफल गरि सुझाव माग गरेर आगामी आर्थिक वर्षको नीति निर्माण सम्पन्न गर्ने नगरपालिकाले जनाएको छ ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x