सुन्दरहरैचा, बैशाख २२ गते
शिक्षाविद् , समाजसेवी रामप्रसाद काफ्लेकाे जीवनीमा आधारित पुस्तक ‘सेवाका सारथी’काे काेशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले लाेकार्पण गर्नुभएको छ । आज माेरङकाे सुन्दरहरैंचा ५ नयाँ वृन्दावन गौशालामा एक समारोह विच कार्कीले पुस्तककाे लाेकार्पण गर्नुभएको हाे । कार्यक्रममा नगरप्रमुख केदारप्रसाद गुरागाईं, पूर्व राज्यमन्त्री राजकुमार ओझा, प्रा. डा टंकप्रसाद न्याैपानेलगायत व्यक्तिहरूकाे उपस्थिति रहेकाे थियो । उक्त पुस्तकका बारेमा डा. दीपक न्याैपानेले चर्चा गर्नुभएकाे थियाे ।
काफ्ले प्रतिष्ठित सुकुना बहुमुखी क्याम्पसका संस्थापक क्याम्पस प्रमुख हुनुहुन्छ । यस्तै दुलारी आदर्श गाउँ पञ्चायकाे दुई कार्यकाल प्रधानपञ्च समेत हुनुहुन्छ । नयाँ वृन्दावन गौशालाकी अध्यक्ष गंगादेवी काफ्ले प्रकाशक रहेको उक्त पुस्तक बिक्रीबाट हुने आम्दानी नयाँ वृन्दावन गौशालाको कोषमा राखिने गौशालाका संरक्षक महामण्डलेश्वर दीनबन्धु शास्त्रीले बताउनुभयाे ।