सुन्दरहरैँचा नगरपालिकाले मिलेर बसेका दम्पतीलाई ‘ढुकुर जोडी’ का रुपमा सम्मान गर्दै


shiva

सुन्दरहरैचा । मोरङको सुन्दरहरैँचा नगरपालिकाले ‘उत्कृष्ट दम्पती’ लाई सम्मान गर्ने भएको छ । नगरपालिकाले विवाह गरेको मितिले १० वर्षसम्म झैझगडा नगरेका, मिलेर घरव्यवहार गर्दै जीवन चलाएका दम्पतिलाई ‘ढुकुर जोडी’ का रूपमा सम्मान गर्ने भएको हो ।

पछिल्लो समय सुन्दरहरैँचा नगरपालिकाको न्यायिक समितिमा पती-पत्नी बीचको झैझगडा, इज्जतअनुसार खान-लाउन पाउनुपर्ने, लैंगिक हिंसा, गाली बेइज्जतीसम्बन्धी मुद्दा दिनप्रतिदिन बढ्दै आएको हुनाले नयाँ अवधारणा ल्याइएको उपमेयर अकली चौधरीले सञ्चारमाध्यमहरुलाई जानकारी दिनु भयो । समाजमा लामो समयदेखि विभिन्न आरोह-अवरोह पार गर्दै सुखद दाम्पत्य जीवनयापन गर्दै आएका जोडीलाई प्रोत्साहन गर्न कार्यक्रम राखिएको उपमेयर चौधरीको भनाइ छ ।

उप मेयर चौधरीले बितेको ३ वर्षमा श्रीमान/श्रीमतीसँग सम्बन्धित १२६ वटा मुद्दा न्यायिक समितिमा परेको जानकारी दिनु भएको छ । २०७९/०८० मा १९० मुद्दा दर्ता भएकामा ४१ मुद्धाहरु श्रीमान-श्रीमतीको झगडासँग सम्बन्धित थिए । यस्तै ८०/८१ मा २१२ मध्ये ६२ र यो वर्ष ८२ वटा दर्ता भएकोमा २३ वटा पति-पत्नी झगडासँग सम्बन्धित रहेको उपप्रमुख चौधरीले स्पष्ट पार्नु भएको छ ।

ढुकुर जोडीका लागि नगरपालिकाले तोकेका मापदण्ड: 

१. कम्तीमा विवाह भएको १० वर्ष पुरा गरेको हुनु पर्ने ।

२. श्रीमान् श्रीमती दुवैको नेपाली नागरिकता भएको हुनु पर्ने ।

३. विवाह दर्ता गरेको हुनुपर्ने ।

४. स्थायी रूपमा सुन्दरहरैँचा नगरपालिका बसोबास गरेको हुनुपर्ने ।

५. छोराछोरीको जायजन्म भएको भए छोराछोरीको जन्मदर्ता गरेको हुनुपर्ने ।

६. नागरिकता बनाउने उमेर पूरा गरेका छोराछोरी भए नागरिकता बनाएको हुनुपर्ने ।

७. विद्यालय जाने उमेर पूरा भएका छोराछोरी भए विद्यालयमा भर्ना गरेको हुनुपर्ने ।

८. निरन्तर रूपमा संयुक्त परिवारमा (बुवा वा आमा/सासू वा ससुरा सँग) बसेको हुनुपर्ने । अलग भिन्न नभएको ।

९. बुवाआमा वा सासूससुरालाई राम्रोसँग हेरचाह, पालनपोषण, मायाममता गरेको हुनुपर्ने ।

१०. हालका मितिसम्म अदालत, प्रहरी चौकी, न्यायिक समिति, लगायतका निकायहरूमा वा समाजमा श्रीमान्-श्रीमतीको झगडा परी निवेदन दर्ता नगराएको हुनुपर्ने ।

११. निरन्तर नेपालमै बसोबास गरेको हुनुपर्ने । विवाह भएको १० वर्षमा वैदेशिक रोजगारमा २ वर्ष भन्दाबढी नबसेको ।

१२. माथि उल्लेखित शर्तहरू पूरा हुने कागजात फारमसहित पेश गर्नुपर्ने ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x