एलएन गच्छदार, सुन्दरहरैंचा ।
सुन्दरहरैंचा नगरपालिकामा आयोजित चौथो अन्तर्राष्ट्रिय आमन्त्रण विराट भेट्रान गोल्ड कप फुटबल प्रतियोगिताको फाइनल खेलमा घरेलु टोली बिराट भेट्रान ‘ए’ ले उत्कृष्ट प्रदर्शन गर्दै बिराट भेट्रान ‘बी’ लाई ७-१ को फराकिलो अन्तरले पराजित गरेको छ।
फाइनल खेलको रोमाञ्चक क्षणमा बिराट भेट्रान ‘ए’ को टोलीले आफ्नो अनुभव र कौशलको उत्कृष्ट प्रदर्शन गर्दै उपाधि हात पारेको हो। विजेता टिमले नगद १ लाख १ हजार १११ रुपैयाँ, ट्रफी, र मेडल प्राप्त गरे। उपविजेता टोली बिराट भेट्रान ‘बी’ ले नगद ५० हजार ५५५ रुपैयाँसहित विभिन्न विधागत पुरस्कार, ट्रफी, र मेडल प्राप्त गरेको आयोजक समितिले जानकारी दिएको छ।
व्यक्तिगत विधागत पुरस्कारहरू:
• म्यान अफ द म्याच: कृष्ण शाक्य (बिराट भेट्रान ‘ए’)
• सर्वाधिक गोलकर्ताहरू (४/४ गोल): झापा भेट्रानका हर्क लिम्बू , बिराट भेट्रान ‘ए’ का कृष्ण शाक्य र सुरज प्रधान
• सर्वोकृष्ट गोलरक्षक: मीन बस्नेत (बिराट भेट्रान ‘ए’)
• सर्वश्रेष्ठ डिफेन्डर: सरोज बस्नेत (बिराट भेट्रान ‘ए’)
• सर्वश्रेष्ठ मिडफिल्डर: निरु लिम्बू (बिराट भेट्रान ‘बी’)
• सर्वश्रेष्ठ फरवार्ड: सुरज प्रधान (बिराट भेट्रान ‘ए’)
• म्यान अफ द सिरिज: डेनी राई (बिराट भेट्रान ‘ए’)
• सर्वश्रेष्ठ प्रशिक्षक: भीम प्रकाश लिम्बू (बिराट भेट्रान ‘ए’)
आयोजक समितिले प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै खेलाडी, प्रशिक्षक, र सहभागी सबैलाई धन्यवाद ज्ञापन गरेको छ। फुटबलप्रेमी दर्शकहरूका लागि यो प्रतियोगिता उत्साहजनक र मनोरञ्जनपूर्ण रहेको थियो।
प्रतियोगितामा कुल १० टोलीहरूले प्रतिस्पर्धा गरेको थियो भने सहभागी टोलीहरूमध्ये नेपालका विभिन्न क्षेत्रीय क्लबहरूसँगै भारतका २ क्लबको उपस्थित रहेको थियो । खेलहरू नकआउट शैलीमा संचालन हुदै नेपालका दुधे भेट्रान झापा, मिल्स भेट्रान विराटनगर मोरङ, हाम्रो धरान भेट्रान सुनसरी, उर्लाबारी भेट्रान मोरङ, राजारानी भेट्रान धनकुटा, पूर्वेली भेट्रान बिर्तामोड झापा र आयोजक विराट भेट्रानका २ टिम ( ए र बि ) सहभागी भएका भएका थिए । खेल माघ १९ गतेदेखि संचालन भएको थियो । यस किसिमको प्रतियोगिताले सुन्दरहरैंचाको खेलकुद विकासमा योगदान पुर्याउने विश्वास लिइएको छ।