सुन्दरहरैंचामा ५ दिने सहकारी व्यवस्थापन तालिम सुरु


shiva

सुन्दरहरैचा/ चैत्र २५ गते

सुन्दरहरैंचा नगरपालिका वडा नं. १० स्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको भवनमा ५ दिने सहकारी व्यवस्थापन तालिम सुरु भएको छ। तालिम सुन्दरहरैंचा नगरपालिकाको सहकार्यमा जनचर्चा टाइम्स मिडिया एण्ड एडभरटाइजिङ प्रा.लिको आयोजनामा सुरु गरिएको हो।

तालिम कार्यक्रमको उद्घाटन नगर प्रमुख केदार प्रसाद गुरागाईं र नगर उपप्रमुख अकली चौधरीले संयुक्त रूपमा गर्नुभएको थियो। कार्यक्रम संयोजक शिव भट्टराई भोजपुरेको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा नगर कार्यपालिका सदस्य आनन्द लिंखा, रुक्मणि घिमिरे, सहकारी तथा रोजगार शाखाका प्रमुख दिनेश घिमिरे लगायतको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि गुरागाईंले सहकारी तालिम केवल औपचारिकता नबनोस् भन्नेमा जोड दिनुभयो। “तालिममा सिकेका सिपहरू व्यवहारमा उतार्नुपर्छ,” उहाँले भन्नुभयो, “कतिपय सहकारीमा समस्या देखिएको भए पनि सबैलाई एउटै दृष्टिकोणबाट हेर्नु हुदैन । जहाँ सञ्चालक समिति र कर्मचारीले आफ्नो दायित्व बुझेका छन्, त्यहाँ समस्या छैन। सहकारी सफल हुनुको प्रमुख आधार नै जिम्मेवारीबोध हो।”

उपप्रमुख चौधरीले केही सहकारी संस्थाहरू सहकारीको नाममा गलत ढंगले सञ्चालन भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो। उहाँले प्रतिवेदन नबुझाउने सहकारीहरूलाई आवश्यक अनुगमन गरिने स्पष्ट पार्नुभयो।

तालिममा सहजीकरणको भूमिका प्रशिक्षक जीवन बस्नेतले निभाइरहनुभएको छ। उहाँले सहकारी व्यवस्थापनका सिद्धान्त, लेखा प्रणाली, नेतृत्व विकास, र सहकारी ऐनका महत्वपूर्ण पक्षहरूबारे जानकारी दिँदै सहभागीहरूलाई गीतमार्फत लेखा सम्बन्धी ज्ञान पनि प्रदान गरिरहनुभएको छ। गीतको माध्यमबाट सिकाइ गर्दा सहभागीहरू बढी सक्रिय र उत्साहित देखिएका छन्।

५ दिने तालिममा विभिन्न सहकारी संस्थाबाट आएका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको छ। तालिमको उद्देश्य सहकारी संस्था सञ्चालनलाई थप पारदर्शी, उत्तरदायी, र प्रभावकारी बनाउन सहयोग पुर्‍याउनु रहेको आयोजक संस्थाले जनाएको छ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x