सुन्दरहरैंचा १ मा बञ्चरो प्रहार गरी हत्या गर्ने एक दम्पती पक्राउ


shiva

सुन्दरहरैचा/

मोरङको सुन्दरहरैँचामा कुखुरा फार्मका सञ्चालकको हत्या गर्ने दम्पती पक्राउ परेका छन् ।हत्यामा संलग्न उर्लाबारी नगरपालिका–४ घर भएका ३५ वर्षीय छिरिङ भनिने सुनील तामाङ र उनकी श्रीमती ३३ वर्षीया प्रनिसा पाँचकोटीलाई पक्राउ गरिएको जानकारी मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले दिए ।

फार्मका सञ्चालक सुन्दरहरैँचा नगरपालिका–९ का ४९ वर्षीय सहदेव बजगाईंको बिहीबार बिहान हत्या भएको थियो ।बजगाईंले सुन्दरहरैँचा–१ मा कुखुरा फार्म सञ्चालन गर्दै आएका थिए । एसपी कार्कीका अनुसार हत्यामा संलग्न दम्पती खुकुरा फार्मकै कामदार हुन् । डेढ महिना अघिदेखि उनीहरुले कुखुरा फार्ममा काम गर्दै आएको पत्ता लागेको छ । उनीहरु फार्मभित्रै बस्दै आएका थिए ।

कार्कीका अनुसार फार्मका सञ्चालक बजगाईंको हत्या गरेर फरार भएका उनीहरुलाई सुनसरीको धरान उपमहानगरपालिका–१२ स्थित अरुणोदय धर्मशालाको गेस्ट हाउसबाट साँझ ७ः३० बजेतिर पक्राउ गरेर बेलबारी ल्याइएको छ । हत्यामा संलग्नविरुद्ध इलाका प्रहरी कार्यालय बेलबारीबाटै कर्तव्य ज्यान मुद्दा चल्ने छ ।

प्रहरीका अनुसार फार्मका सञ्चालक बजगाईंले काम गरेको पैसा नदिने र गालीगलौज गर्दै तुच्छ व्यवहार गर्ने गरेका कारण सहन नसकेर हत्या गरेको उनीहरुले स्वीकार गरेका छन् । बजगाईंको शव टाउको क्षतविक्षत भएको बीभत्स अवस्थामा बिहीबार बिहान १०ः३० बजेतिर कुखुरा फार्मभित्रै फेला परेको थियो ।

एसपी कार्कीका अनुसार बन्चरो र दाउ प्रहार गरेर उनको हत्या गरेपछि कामदार दम्पती फरार भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट रगत लतपतिएको बन्चरो र दाउ बरामद भएको थियो ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x