सुन्दरहरैचा/ मोरङको सुन्दरहरैँचा ६ मा रहेको पूर्वाञ्चल मेट्रियल इन्डष्ट्रिज प्रा.लि. अस्फाल्ट प्लान्टका व्यवसायीलाई बुधबार चाँबी जिम्मा लगाइएको छ ।
सुन्दरहरैँचा ६ को चौतारीटोलमा आयोजित कार्यक्रममा सुन्दरहरैँचा उद्योग वाणिज्य संघको अनुरोध पत्रको आधारमा सुन्दरहरैँचाका नगर प्रमुख केदार प्रसाद गुरागाईको प्रमुख उपस्थितीमा चाबी फिर्ता गरिएको हो । कार्यक्रममा वडा अध्यक्ष सन्तोष लिङ्देनलका अनुसार आस्फाल्ट प्लान्टले उत्पादन गरेको अलकत्रामा विभिन्न केमिकल प्रयोग गरीएको हुदाँ धुलो, धुवाँ र दुगन्धको कारण स्थानीयवासीहरुलाई नकारात्मक असर परेको भन्दै पूर्वाञ्चल मेट्रियल इन्डष्ट्रिज प्रा.लि.मा गत बिहिबार ताला लगाइएको थियो ।
यस अघि स्थानीयवासीहरुले पटक पटक कम्पनीमा गएर सम्झौता गरे पनि सम्झौता अनुसार कम्पनीले स्थानीयवासीको अनुरोध सुनुवाई नगरेको र स्थानीयहरुले कम्पनीसँग कुरा गर्दा कम्पनीका व्यवसायीहरुले स्थानीयलाई गालीगलौच गरेको हुदाँ स्थानीयवासीहरुले वडा अध्यक्ष सन्तोष लिङ्देनलाई बोलाएका थिए।
स्थानीयवासी र कम्पनी बीच पर्न गएको झडपलाई रोक्न वडा अध्यक्ष सन्तोष लिङदेनले कम्पनी बन्द गरी ताल्चा लगाएका थिए भने बुधबार सुन्दरहरैँचाका नगर प्रमुखको उपस्थितीमा स्थानीयवासी र व्यवसायी बीच यस उपरान्त अलकत्रा उत्पादन नगर्ने साथै स्थानीयलाई असर नगर्ने कच्चा पदार्थ मात्र उत्पादन गर्ने सम्झौताका आधारमा स्थानीयवासी, नागरिक समाज , सुरक्षाकर्मी , पत्रकारको उपस्थितीमा वडा अध्यक्ष सन्तोष लिङ्देनले चाँबी व्यवसायीलाई हस्तान्तरण गरेका छन् ।