सुन्दरहरैचा ।
मोरङको सुन्दरहरैंचाका शाही परिवारका पाँच दिदी–बहिनीले छोरा नै किरियापुत्री बस्नुपर्छ भन्ने मान्यतालाई तोडिदिएका छन् । तिहारको बेला, सबैतिर झिलीमिली बत्ती अनि देउसीभैलोको रौनक छ । तर यी पाँच दिदीबहिनीको घरमा बुवाको निधनका कारण अध्याँरो छाएको छ । मनमा पीडा छ।
मोरङको सुन्दरहरंैैचा नगरपालिका वडा नम्बर ५ का ५३ वर्षीय कृष्णकुमार शाहीको असोज ६ गते निधन भएको छ । उहाँका पाँच छोरीहरुले यो समाचार तयार पर्दासम्म काजकिरिया गरिरहेका छन् । आमासँगै काजकिरियामा बसेका उनीहरुले विधि विधानअनुसार १३ दिनसम्मको काजकिरिया गरेका हुन् । उनीहरूले किरिया गर्दा कपाल खौरनेबाहेक जनै लगाएर आफ्नो धर्म परम्पराअनुसार क्रिरिया कर्मका सबै काम गरेका छन् ।कृष्णबहादुरको निधनपछि आमा टीका शाहीसँगै पाँच छोरीहरुले धार्मिक विधिअनुसार किरिया गरिरहेका हुन् । सवै छोरीले दाहसंसस्कार गरिने ठाउँ इटहरीको मुक्तिघाट पुगेर बुवालाई दागबत्ती दिए । किरियामा बस्नु भएको छोरी जेनिसाले भन्नुभयो ‘बुवा मिहिनेती अनि फराकिलो सोच भएको सामाजिक व्यक्तित्व हुनुहुन्थ्यो । तीमीहरुले छोराको भूमिका निर्वाह गर्नुपर्छ भन्नुहुन्थ्यो, बुवाको सुखदुःखमा पनि हामीले साथ दिएका थियौं ।
विगतमा अरू ठाउँका छोरीले किरिया बसेको देखेको बताउँदै जेनिसाले भन्नुभयो,‘ गलत मान्यतालाइ तोड्दै, छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन हामी आफैँ किरिया गर्न बसेका हौँ । वास्तवमा छोरीले बाबुको मलामी जानु हुँदैन र किरिया गर्नुहुँदैन भन्ने गलत मान्यता हो,’ बुबाले हामीप्रति गरेको त्यागको सम्मान गर्दै किरिया बस्ने निर्णय गरेका हौँ ।’ छोरीहरुसँगै टिका शाही पनि श्रीमानको किरियामा बस्नु भएको छ । छोराले गर्ने कर्तव्य पूरा गर्छन् भन्ने आफ्नो श्रीमान कृष्णको विश्वास रहेको, छोरीहरुले पनि बुवाको किरियाकर्म हामी गर्छौ भन्ने इच्छा देखाएको टीका शाहीले सञ्चारमाध्यमलाई जानकारी दिनु भयो ।
यस्तै छोरा नभएको एउटा कारण र छोरीले गरेको काम उदाहरणीय हुने भएकाले परिवारका सबै सदस्यहरु छोरीहरुलाई किरिया गर्न दिने निर्णयमा पुगेको देवबहादुर शाहीको भनाइ छ । पाँच छोरीहरुले किरिया बस्न इच्छा गर्दा आफन्त र छिमेकीले सहजीकरण गरेका थिए । पत्नी टीका शाही र पाँचजना छोरीहरु जस्मिन, जेनिसा, कसिस, प्रेरणा र कृष्टिनाले काजकारिया गरेका हुन् । काजकारियामा बसेका चेलीहरुमा २ जनाले फेस डिजाइनिंग कोर्ष गर्दैछन् भने दुई जनाले नर्सिंग पढेका छन् । स्व. कृष्णकुमार भने विभिन्न सामाजिक संघसंसस्थामा आबद्ध हुनुहुन्थ्यो । उहाँको सक्रिय समाजसेवाको मुल्यांकन गर्दै दर्जनौं सामाजिक संघसघहरुले हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका छन् ।
कृष्णबहादुरको दुबै मृगौला र लिबरमा समस्याका कारण उपचार गर्दै र औषधि सेवन गदै गर्दाको अवस्थामा मृत्यु भएको थियो । छोरी भएर पनि बुवाको किरिया बस्दा सबैको सहयोग पाएको छोरीहरुको भनाइ छ । हाम्रो समाजमा अझै पनि छोरीहरू किरिया बस्ने चलनलाई अस्वाभाविक मानिँदै आएको छ । तर पितृसतात्मक सोच भएको हाम्रो समाजमा छोराले नै किरिया गर्नुपर्छ भन्ने मान्यतालाई तोड्नु पाँचजना यी चेलीहरुको महान कार्य हो ।