एलएन गच्छदार, सुन्दरहरैचा ।
मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नं. ७, गोठगाउँस्थित सुन्दर बाटिका एकेडेमीले सरस्वती पूजाको अवसरमा पुरस्कार वितरण, सांस्कृतिक कार्यक्रम, अक्षरारम्भ तथा विज्ञान प्रदर्शनी सम्पन्न गरेको छ।विद्यालय परिसरमा आयोजित विशेष कार्यक्रममा विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमको सुरूवातमा विद्यार्थी तथा शिक्षकहरूले विधिपूर्वक सरस्वती पूजाको विधि सम्पन्न गरेका थिए।
कार्यक्रम अन्तर्गत नयाँ भर्ना भएका साना बालबालिकाहरूको अक्षरारम्भ गराइँदै शिक्षा यात्राको पहिलो पाइला चालिएको थियो। विद्यालयका शिक्षकहरूले विद्यार्थीहरूलाई अक्षर लेखनको प्रारम्भिक अभ्यास गराउँदै शिक्षा जीवनको सुरुवात गराएका थिए। सरस्वती पूजाको अवसरमा विद्यार्थीहरूले सांकृतिक तथा बिबिध कार्यक्रम अन्तर्गत सिंगिंङ्ग आइडल, डान्सिङ्ग आइडल, हेन्ड राइटिंङ्ग आइडल लगायत प्रस्तुत गरेका थिए। विशेषगरी सरस्वती वन्दना, नेपाली सांस्कृतिक नृत्य, आधुनिक गायन तथा नाटक प्रस्तुत गरेर उपस्थित दर्शकहरूलाई मनोरञ्जन प्रदान गरे।
कार्यक्रमकै अर्को आकर्षण विद्यार्थीहरूद्वारा आयोजित विज्ञान प्रदर्शनी रहेको थियो। विद्यार्थीहरूले विज्ञान तथा प्रविधिका विभिन्न मोडेलहरू प्रस्तुत गर्दै वैज्ञानिक आविष्कार र प्रयोगहरूको व्याख्या गरेका थिए। यस प्रदर्शनीमा विद्युत् प्रवाह, सौर्य ऊर्जा, वातावरणीय प्रभावहरू तथा नयाँ सिर्जनात्मक आविष्कारहरू प्रदर्शन गरिएको थियो।
विद्यालयले विगत वर्षभरि शैक्षिक, खेलकुद तथा अन्य अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई प्रमाणपत्र तथा पुरस्कार प्रदान गरेको थियो। विभिन्न श्रेणीमा उत्कृष्ट विद्यार्थीहरूलाई सम्मान गर्दै विद्यालयले उनीहरूलाई थप उत्साहित बनाएको छ। कार्यक्रमका आमन्त्रित अतिथिहरुले विद्यार्थीहरूको बौद्धिक तथा सिर्जनात्मक विकासमा यस्ता कार्यक्रमहरू महत्त्वपूर्ण हुने बताएका थिए। विद्यालयका संस्थापक प्रिन्सिपल बिनोद फुयालले विद्यार्थीहरूको प्रतिभा पहिचान गर्न र उनीहरूलाई हौसला प्रदान गर्न यस्ता गतिविधि निरन्तर आयोजना गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको अन्त्यमा विद्यालयका संचालक तथा कार्यक्रम संयोजक जानुका ओझाले सबै सहभागीहरूलाई धन्यवाद दिँदै शिक्षालाई व्यवहारिक रूपमा प्रयोग गर्न विज्ञान प्रदर्शनीजस्ता गतिविधिहरू आवश्यक रहेको उल्लेख गर्नुभयो। विद्यालयको यस कार्यक्रमले विद्यार्थी, शिक्षक, अभिभावक तथा स्थानीय समुदायलाई शिक्षा, संस्कृति र विज्ञानको महत्वबारे नयाँ प्रेरणा प्रदान गरेको छ।