सुन्दरहरैचा ।
स्वास्थ्य उपचारको पहुँचबाट बञ्चित भएका स्याङ्जाका विपन्न बिरामीहरूका लागि एक सुखद समाचार आएको छ। माननीय धनराज गुरुङको विशेष अनुरोधमा काठमाण्डौं मेडिकल कलेज (केएमसी) का प्रोपाइटर एवं सांसद डा. सुनिल शर्माले स्याङ्जाका आर्थिक रूपले कमजोर बिरामीहरूको लागि निशुल्क उपचारको व्यवस्था गरेका छन्।
यस योजना अनुसार, यही चैत्र ४ गते काठमाण्डौं मेडिकल कलेज, सिनामंगलमा स्याङ्जाका ती बिरामीहरूलाई अप्रेसन चार्ज, बेड चार्ज, रगत जाँच, सिटी स्क्यान, एमआरआई लगायतका सम्पूर्ण सेवा निःशुल्क प्रदान गरिनेछ। बिरामीहरूले औषधि, औषधिजन्य सामग्री र खानाको व्यवस्था भने आफैं गर्नु पर्नेछ।
स्याङ्जाका विपन्न बिरामीहरुले उपचार लिनको लागि स्याङ्जा कै स्थानिय अस्पतालमा जाँच गराई शल्यक्रिया गर्नु पर्ने भएमा वा अस्पतालमानै भर्ना गरी थप उपचार गर्नु पर्ने भएमा त्यहाँबाट रिफर लिई आउनु पर्ने हुन्छ । स्वास्थ्य बीमामा आबद्ध भएका विरामीहरुले बीमाको रिफर कागज पनि साथै लिएर आउनु पर्छ । विपन्न बिरामीहरुको केएमसीमा उपचारको लागि सहजिकरण माननीय धनराज गुरुङको सचिवालयले गर्नेछ ।
थप जानकारी र सम्पर्क
बिरामी तथा सम्बन्धित व्यक्तिहरूले थप जानकारीका लागि माननीय धनराज गुरुङको सचिवालयमा सम्पर्क गर्न सक्नेछन्।
📞 सम्पर्क व्यक्तिः भुपराज बस्याल
📞 सम्पर्क नम्बरः ९८५१११०८५०
स्वास्थ्य उपचारलाई मौलिक अधिकारका रूपमा स्थापित गर्ने अभियानमा लामो समयदेखि सक्रिय रहँदै आएका स्याङ्जा क्षेत्र नं. २ का संघीय सांसद तथा वरिष्ठ अधिवक्ता धनराज गुरुङ सामाजिक कार्यमा अग्रसर नेताका रूपमा चिनिन्छन्। समाजसेवा र जनकल्याणकारी कार्यमा विशेष योगदान दिँदै आएका गुरुङले यसपटक पनि आर्थिक अभावका कारण उपचार गराउन नसकेका नागरिकहरूलाई सहयोग पुर्याउने महत्वपूर्ण काम गरेका छन्।
माननीय डा. सुनिल शर्मा निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्दै हजारौं विरामीहरुलाई नवजीवन प्राप्त गर्न सारथीकोरुपमा स्थापित परिचित व्यक्ति हुन् । उनले पूर्वी नेपाल देखि सूदुर पश्चिम सम्म विशेषज्ञ चिकित्सक सहितको निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरी लाखौंलाई गाँउ घरमै उपचारसेवा पुर्याउदै आएका छन् । अपरेसन गर्न नसकिरहेका, आफ्नो रोगको सही उपचार गर्न असमर्थ विरामीहरु देखि मिर्गौला प्रत्यारोपण सम्मको उपचार निःशुल्क उपलव्ध गराउदै आएका छन् । सांसद भए वापत राज्यबाट कुनै तलब सुविधा समेत नलिने घोषणा गरी जनताको प्रतिनिधीको रुपमा संसदमा जनताको आवाजलाई ससक्त रुपमा राख्ने उनीमात्र एक सांसद हुन् ।
स्याङजाका विपन्न बिरामीहरुको स्वास्थ्य उपचारको अभावमा कोही पनि अकालमा मृत्यु वरण गर्न नपरोस् भन्ने उद्देश्यले यो योजना अगाडि सारिएको हो। यस कार्यले नेपालमा सामाजिक उत्तरदायित्वलाई अझ सशक्त बनाउने अपेक्षा गरिएको छ। माननीय धनराज गुरुङ र डा. सुनिल शर्माको यस किसिमको योगदानलाई स्थानीय नागरिकले अत्यन्त सकारात्मक रूपमा लिएका छन्।
धनराज गुरुङको यो पहल स्याङ्जाका निम्न आर्थिक वर्गका नागरिकहरूका लागि अत्यन्त राहतदायी बन्ने देखिन्छ। नेपालमा अझै पनि हजारौं नागरिक आर्थिक समस्याका कारण उचित उपचार नपाएर अकालमै ज्यान गुमाउन बाध्य छन्। यो सहयोगले विपन्न वर्गका बिरामीहरूलाई जीवनरक्षाको अवसर प्रदान गर्नेछ।
यस अभियानले आर्थिक अभावका कारण उपचारबाट वञ्चित भएका बिरामीहरूलाई ठूलो राहत दिनेछ। यस्तो महत्त्वपूर्ण समाजसेवी कार्य निरन्तर जारी रहोस् भन्ने कामना गर्दै, स्याङ्जाका सम्पूर्ण विपन्न बिरामीहरूलाई आवश्यक कागजातसहित उक्त मितिमा अस्पतालमा उपस्थित हुन अनुरोध गरिन्छ।