हिन्दुराष्ट्र प्राप्तिका लागि जनजागरण अभियानदेखि आमरण अनसनसम्मको घोषणा


shiva

इटहरी/

देशभरीका दुई दर्जभन्दा बढी शक्तिपिठका साधुसन्तहरू आज इटहरीमा भेला भएर हिन्दुराष्ट्र प्राप्तिका लागि आफूहरू जे गर्न पनि तयार रहेको शङ्खघोष गरेका छन् ।

 

नेपालका अग्रज साधुसन्तहरूका अनुसार उनीहरू अहिलेका राजनीतिक दल र नेताहरूको हिन्दु–सनातनविरोधी व्यवहारबाट क्षुब्ध छन् । अब सनातनविरोधी दल र नेताहरूका विरुद्ध कठोर कदम नचाले देश, धर्म, संस्कृति केही बाँकी रहँदैन ।

राष्ट्रिय सन्त महासभामातहतको सनातन हिन्दुराष्ट्र अभियान नेपालद्वारा आयोजित जनजागरण सन्तसभामा बोल्ने सबै वक्ताहरूले आमसभा, धर्ना, सडक प्रदर्शन, बल प्रयोग, सत्याग्रह आदि जे गर्नुपर्छ गर्ने तर नेपाललाई पुनः हिन्दुराष्ट्र बनाएरै छोड्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

छातीमा राम देखिएका हनुमानको तस्बिरमा माल्यार्पण र पञ्च–शङ्खध्वनिसहित नेपाललाई हिन्दुराष्ट्र बनाउने उद्देश्ययुक्त जनजागरण अभियान प्रारम्भ भएको सार्वजनिक घोषणा गरेका थिए ।

कार्यक्रममा जगद्गुरु बालसन्त मोहनशरण देवाचार्यले भने, ‘धर्म र देश बचाउन नेपालका सबै साधुसन्त आज एउटै मञ्चमा उभिएका छन् । इटहरीबाट सुरु भएको जनजागरण अभियान हिन्दुराष्ट्र प्राप्त नहुञ्जेल रोकिनेवाला छैन ।’

जगद्गुरु देवाचार्यका अनुसार सन्तहरुसँग गोली–बन्दुक नभए पनि तपोबल छ । त्यही तपोबलका भरमा हिन्दुराष्ट्र अवश्य प्राप्त हुनेछ ।

‘हामीले पवित्र कौशिकीको जल समातेर प्रतिज्ञा गरेका छौँ,’ देवाचार्यले भने, ‘जबसम्म हाम्रा पुर्खाको नासो फिर्ता हुँदैन, तबसम्म हामी काठमाडौँमा धर्ना दिएर आन्दोलन गर्नेछौँ । आन्दोलनअन्तर्गत जनजागरण अभियान, जन प्रदर्शनसहित साधुसन्तहरूबाट आमरण अनसनसम्मका कार्यक्रमहरू हुनेछन् ।’

शङ्कराचार्य पिठ झापाका प्रमुख लक्ष्मीप्रसाद खतिवडा पहिलो सत्याग्रही हुने र त्यसमा अरू साधुसन्तहरू थपिने जानकारी पनि सन्तसभामा साझा गरियो । तर त्यसअघि इटहरीमा जस्तै जनजागरण कार्यक्रम जनकपुर, वीरगन्ज, हेटौँडा, चितवन, बुटबल, भैरहवा, कृष्णनगर, नेपालगन्ज र धनगढीमा हुनेछ । त्यसपछि काठमाडौँ केन्द्रित आन्दोलन चर्काउने योजना रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेपाल सन्त समाजका अध्यक्ष ज्ञानानन्द सरस्वतीले शासकहरू दमन गरेको गरै गर्ने हामी दमित भएर कतिदिन बस्ने ? भनी प्रश्न गर्दै नेपालका नेताहरूलाई सरापेका थिए ।

‘विदेशीको इसारामा धर्म निरपेक्षताको भुङ्ग्रो नेपालीको टाउको खन्याउने, गाई मार्नेलाई कारबाही गर्न नसक्ने, रोजगारी माग गर्ने जनतालाई गोली हान्ने आततायीहरूलाई धिक्कार छ,’ सरस्वतीले भने ‘साधुसन्तको चित्त दुखाउनेहरूलाई मेरो श्राप छ । यिनीहरू चाँडै दग्ध होउन् ।’

हरिहर सन्न्यास आश्रमका पिठाधीशसमेत रहेका अध्यक्ष सरस्वतीले साधुहरुसँग गोली नभए पनि बोली हुने, बोलीको तेज गोलीभन्दा लाखौँ गुणा बढी हुने बताए । उनले अहिलेका राज्य सञ्चालकहरूले आफ्ना गल्ती नसच्याए साधुहरू गेरुवा धोती लगाएर सिंहदरबार छिर्ने दाबी पनि गरे ।

हाल ६२ जिल्लामा सनातन हिन्दुराष्ट्र अभियान नेपाल नामक धार्मिक सङ्गठन बिस्तार भइसकेको र बाँकी जिल्लामा पनि सङ्गठन निर्माणको काम भइरहेको जनाउँदै अध्यक्ष सरस्वतीले भने, ‘जोगीहरू उफ्रेर केही हुँदै भन्ने कसैले हिन चिन्तन गर्छ भने त्यस्ताले सुनिराखुन्, हाम्रा सङ्गठनका मान्छेहरु एकैसाथ सडकमा आए भने यो राज्सत्ताले सम्हाल्न सक्तैन ।’

गलेश्वर धामका पिठाधीश आत्मानन्द गिरीले आगामी चुनावमा धर्मसापेक्ष राष्ट्र घोषणा गर्छु भन्नेलाई मात्र भोट आग्रह गरेका थिए । उनले स्कुल, सेना, प्रहरी जताततै इसाइहरूको हस्तक्षेप बढेको भन्दै चिन्ता पनि व्यक्त गरे ।

धार्मिक अभियानकर्मी पुष्पराज पुरुषले हिन्दु सनातनीका छोराछोरीलाई इसाइ धर्मको प्रतीक टाइ लगाउन बाध्य बनाउने हिन्दु धर्मविरोधीलाई गाउँगाउँबाट बहिस्कार गर्नुपर्ने धारणा राखेका थिए ।

महेश सन्न्यास आश्रमका रमणानन्द गिरीले न्याय र अन्यायको सीमारेखा कोर्न आफूहरू देशव्यापी जनजागरण अभियानमा हिँडेको बताए ।
विश्व हिन्दु विद्यापिठका चिन्तामणि योगीले नेपालमा बस्ने जो भए पनि त्यसले नेपाली माटोको टीका लगाउनै पर्ने र पशुपतिनाथको जय भन्नै पर्ने धारणा राखेका थिए ।

धर्म निरपेक्षताको विरोध गर्दा राज्यबाट दमन भएको उदाहरण दिँदै श्रीकृष्ण भावनामृत सङ्घका सुदर्शन चक्र दासले यतिबेला हिन्दुहरुको वस्त्रमात्र होइन, मन पनि च्यातिएको बताएका थिए ।

शङ्कराचार्य पिठका लक्ष्मीप्रसाद खतिवडाले नेपालमा गुरुकुल, गौशाला, धर्मसभा, सनातन संस्कृति, कुल धर्म, मस्टो धर्म आदि सबै असुरक्षित असुरक्षित रहेको धारणा राखेका थिए ।

मुक्तिनाथका पिठाधीश कमल नयनाचार्यका अनुसार धर्मगुरुहरू एकै ठाउँमा उभिएको भए धर्मनिरपेक्षता उहिल्यै हटिसक्थ्यो । तर ढिलै भए पनि आजदेखि एक ठाउँमा आएकोले हिन्दुराष्ट्र प्राप्तिको अभियानले चाँडै सार्थकता पाउने विश्वास पलाएको छ ।

‘निरपेक्ष भनेको धर्म नमान्नु हो,’ भन्दै नेपाल श्रीवैष्णव परिषदका अध्यक्ष देवराजाचार्यले संविधानबाट धर्म निरपेक्षता हटाउनै पर्ने, यो रहिरहेसम्म नेपाल र नेपालीको भलो नहुने धारणा व्यक्त गरेका थिए ।

धर्म जागरणकर्मी श्रीनिवासाचार्यले यदि एक महिनामा धरानको बालगोपाल मन्दिरअगाडि झुक्याउरु बनाएको चर्च स्थानान्तरण नगरे हिन्दु युवाहरुले त्यसलाई भत्काएर मैदान बनाउने उदघोष गरेका थिए । उनले हिन्दु धर्म रक्षाका लागि धर्मरक्षक सेना, दुर्गा दल, बानर सेनालगायत सङ्गठन निर्माणको तयारी भइरहेको जानकारी पनि दिए ।

हिन्दुराष्ट्र अभियान नेपालका अध्यक्ष नन्दकिशोर भारद्वाजले इटहरीमा भएको सन्तहरूको भेलालाई जनजागरण सभा भनिए पनि यो नेपालको मौलिक धर्म, संस्कार, परम्परा र संस्कृतिमाथि बारम्बार भएको आक्रमणविरुद्ध खबरदारी सभा भएको धारणा राखेका थिए ।

त्यसैगरी, धार्मिक अभियानकर्मी प्रसाद सुब्बाले सन्तहरूलाई राजनीतिमा आउन आग्रह गरेका थिए भने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा प्रदेश सांसद भीम पराजुलीले हिन्दुराष्ट्रका पक्षमा पार्टीभित्र आफूले लबिङ गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

कार्यक्रम संयोजक तथा वृन्दावन गौशालाका संरक्षक दीनबन्थु शास्त्रीले हिन्दुराष्ट्र अभियान नेपालका तर्फबाट ११ बुँदे मागपत्र पढेर सुनाएका थिए, जसलाई सन्तसभाले कर्तलध्वनिका साथ अनुमोदन गरेको थियो ।

राष्ट्रिय सन्तसभा, सम्पूर्ण सनातनी धार्मिक संस्था तथा ॐकार परिवारका तर्फबाट सरकारसमक्ष प्रस्तुत गरिएका एघार सूत्रीय मागहरू यसप्रकार छन् –

(१) धरानस्थित बालगोपाल मन्दिरनजिक झुक्याएर बनाइएको चर्चलाई तत्काल स्थानान्तरण या बन्द गरियोस् ।

(२) राष्ट्रिय जनावर तथा सनातन धर्मावलम्बीहरूले आस्था राख्ने गाई तथा गोरुलाई मारेर खाने उद्देश्यले देशका विभिन्न स्थानबाट दिनदिनै तस्करी गरी विदेशतर्फ बेच्ने कार्यलाई नियन्त्रण गर्न गौतस्करीलाई मानव–तस्करी समान अपराध मानी धरान आदि विभिन्न स्थानमा भएको गौहत्याकाण्डका दोषीलाई अविलम्ब कानुनबमोजिम कारबाही गरियोस् ।

(३) हरेक जिल्लामा न्यूतनम सय बिघा जमिन राज्यले व्यवस्थापन गरेर अशक्त तथा छाडा छोडिएका गाईवस्तुहरूको व्यवस्थापन गर्ने गौशाला साथै लोकल गाईको संरक्षणको लागि छुट्टै व्यवस्था गरियोस् । गौशालाबाट विभिन्न रोजगारमूलक कार्यहरू पनि सञ्चालन गर्न सकिनेछ ।

(४) धार्मिक तथा सामाजिक द्वन्द्वलाई रोकी धार्मिक सद्भाव कायम राख्नका लागि नेपालमा रहेका पौराणिक स्थल, प्राचीन, मौलिक, धार्मिक तथा पुरातात्विक स्थल आदिले परिचित कुनै पनि क्षेत्रमा र पहिले नै निर्मित मठमन्दिरको न्यूनतम एक किलोमिटर वरिपरि धर्म परिवर्तनप्रति विश्वास राख्ने समूह वा व्यक्तिले धर्म परिवर्तन गराउने गतिविधि सञ्चालन गर्न आफ्नो आस्थाको केन्द्र खोल्न नपाउने कानुनी व्यवस्था गरियोस् र हाल बनाइएका त्यस्ता केन्द्रहरू तत्काल स्थानान्तरण या बन्द गरियोस् ।

(५) धर्म परिवर्तनले समाज र राष्ट्रलाई विखण्डन अवश्य ल्याउँछ । तसर्थ प्रलोभनमा परेर या पारेर धर्म परिवर्तन गराउन नपाउने कानुनलाई कडाइका साथ लागु गरियोस् तथा सामाजिक सेवाको नाममा धर्म परिवर्तनलाई प्रोत्साहन दिने खालका विदेशी संस्थाहरूको पहिचान गरी अनुमति रद्द गरी त्यस्ता व्यक्ति वा संस्थालाई कहिल्यै नेपाल आउन नपाउने गरी तत्काल देश निकाला गरियोस् ।

(६) सनातन धर्मावलम्बीहरूको आस्थाका केन्द्र मठमन्दिर, गुम्बा–चैत्य आदिको पूर्ण जिम्मा धार्मिक क्षेत्रलाई नै दिने कानुनी व्यवस्था गरियोस् साथै सो क्षेत्रमा राजनीतिक नियुक्ति नहोस् ।

(७) नेपालका राष्ट्रिय विभूति, नेपालको झन्डा, नेपाल आमा, नेपालको मौलिक धर्म–संस्कृति, परम्परा, सनातनीय धर्मशास्त्र, मठमन्दिर आदि, विभिन्न चाडपर्वहरू, साधुसन्त, गुरुजनहरूलाई अवमूल्यन गर्ने हिसाबले अभिव्यक्ति दिनु, अडियो–भिडियो सामग्री, सामाजिक सञ्जाल, विद्युतीय एवम् छापा मिडियाबाट सम्प्रेषण गर्नु जस्ता कार्यलाई राज्यद्रोहको अपराध मानी त्यस्ता कार्य गर्नेलाई कानुन निर्माण गरी कडाइका साथमा लागु गरियोस् ।

(८) धर्म परिवर्तन गरेर जाने व्यक्तिको नेपाली पहिचानका नाम र थर परिवर्तन गर्नुपर्ने अनिवार्य व्यवस्था गरियोस् तथा धर्म परिवर्तन गरेर जानेलाई आरक्षण सुविधा नपाउने कानुनी व्यवस्था गरियोस् ।

(९) नेपालीको पहिचान नै मेटिने गरी राष्ट्रिय परिचयपत्र, पासपोर्ट आदिमा सिन्दूर, टीका आदि मेट्न नलगाइयोस् ।

(१०) लगभग ९४ प्रतिशत जनताले दिएको सुझावविपरीत संविधानमा राखिएको धर्मनिरपेक्ष शब्दलाई हटाएर नेपाललाई सनातन हिन्दुराष्ट्र घोषणा गरियोस् ।

(११) नेपाललाई धार्मिक, सामाजिक, जातीय द्वन्द्वमुक्त शान्तिक्षेत्र घोषणा गरियोस् ।

सम्बन्धित समाचार

0
Would love your thoughts, please comment.x
()
x