शिव भट्टराई भोजपुरे/ सुन्दरहरैचा
“सुन्दरहरैंचाको पहिचान : समृद्धि र सुशासन” भन्ने मुल नाराका साथ मोरङको सुन्दरहरैंचा नगरपालिकाले महिलाको स्वास्थ्य, सचेतना र सामुदायिक नेतृत्व विकासलाई केन्द्रमा राखेर “उपप्रमुखसँग आमा समूहलाई स्वास्थ्य सचेतना कार्यक्रम” आयोजना गरेको छ।

नगरपालिकाको विभिन्न वार्डमा संचालन भईरहेको सो कार्यक्रम अन्तर्गत आज सुन्दरहरैचा वडा नं. ६ मा आयोजना गरिएको थियो। कार्यक्रममा नगर उपप्रमुख अकलि चौधरीको प्रमुख आतिथ्य रहेको थियो। कार्यक्रममा वडा नं ६ का वडा सदस्य सन्तोष लिङ्देन, विभिन्न आमा समूहका सदस्यहरू लगायतको उत्साहजनक सहभागिता रहेको थियो।
कार्यक्रममा सहजकर्ता जनस्वास्थ्य अधिकृत लिलामणि दाहालले आमा समूहको आवश्यकता, महत्व र समुदायमा यसको सकारात्मक प्रभावबारे विस्तृत जानकारी गराउनु भएको थियो। उक्त कार्यक्रममा एउटै सूचना एकैपटक धेरै व्यक्तिसम्म सहज रूपमा पुर्याउन, निर्णय प्रक्रियामा सबैको सहभागिता सुनिश्चित गर्न, एकअर्काको अनुभवबाट सिकेर व्यवहारमा लागू गर्न तथा महिला नेतृत्व विकासमा आमा समूहको भूमिका महत्वपूर्ण हुने विषयमा छलफल गरिएको थियो।
त्यसैगरी समुदायको स्वास्थ्य अवस्था सुधार गर्न आमा समूह प्रभावकारी माध्यम बन्न सक्ने धारणा समेत व्यक्त गरिएको थियो। कार्यक्रममा महिला स्वास्थ्य स्वयंसेविकाको आवश्यकता, छनोट प्रक्रिया र जिम्मेवारीका विषयमा जानकारी दिइनुका साथै सरसफाइ सम्बन्धी व्यवहार सुधार, मातृ तथा शिशु स्वास्थ्य, परिवार योजना तथा सर्ने र नसर्ने रोगहरूको रोकथामबारे सचेतना प्रदान गरिएको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख अकलि चौधरीले महिला सचेतना र सामुदायिक सहभागिताबिना समृद्ध समाज निर्माण सम्भव नहुने बताउनुभयो। उहाँले आमा समूहहरू समुदाय परिवर्तनका महत्वपूर्ण आधार भएको उल्लेख गर्दै महिलाहरूलाई स्वास्थ्य, शिक्षा र सामाजिक गतिविधिमा अझ सक्रिय बन्न आग्रह गर्नुभयो।
सुन्दरहरैचा अपडेट सङ्ग कुरा गर्दै उहाँले भन्नुभयो, “आमा समूहहरू समाज परिवर्तनका बलिया आधार हुन्। महिलाहरू सचेत र संगठित भएमा परिवार मात्रै होइन, समग्र समुदायको स्वास्थ्य र विकासमा सकारात्मक परिवर्तन आउँछ। नगरपालिकाले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै महिला सशक्तीकरणलाई प्राथमिकतामा राख्नेछ।”
नगरपालिकाले सञ्चालन गरेको उक्त कार्यक्रमले महिलामा स्वास्थ्यसम्बन्धी चेतना अभिवृद्धि गर्नुका साथै सामुदायिक नेतृत्व विकास र सामाजिक उत्तरदायित्वप्रति थप जागरण ल्याउने अपेक्षा गरिएको छ।

