सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे, भाद्र ३ गते
मोरङको सुन्दरहरैँचा–१०, खोर्सानेस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले स्थापनाको २५औँ वर्ष प्रवेशको अवसरमा विविध कार्यक्रमसहित रजत जयन्ती सप्ताह मनाउने भएको छ।

संस्थाको सञ्चालक समिति तथा लेखा समितिको संयुक्त बैठकले चालु वर्षलाई रजत जयन्ती वर्षका रूपमा मनाउने निर्णय गर्दै असोज ११ गतेदेखि १६ गतेसम्म विभिन्न कार्यक्रम आयोजना गर्ने कार्यतालिका तय गरेको हो। संस्थामा हाल करिब १ हजार ६ सय सेयर सदस्य आबद्ध छन्।

रजत जयन्ती सप्ताहअन्तर्गत असोज ११ गते स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गरिनेछ। त्यसैगरी, असोज १३ गते सहकारी क्षेत्रसँग सम्बन्धित विषयमा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरी सहकारीको वर्तमान अवस्था, सम्भावना तथा भावी कार्यदिशाका विषयमा छलफल गरिनेछ।
असोज १६ गते रजत जयन्ती सप्ताहको विशेष समारोह आयोजना गरिनेछ। सो अवसरमा संस्थाको ‘हातेमालो’ स्मारिका लोकार्पण, संस्थाको लोगो अनावरण तथा २४औँ वार्षिक साधारणसभा सम्पन्न गर्ने तयारी गरिएको छ। स्मारिकामा सहकारी तथा समसामयिक विषयमा विज्ञ लेखकहरूले तयार पारेका सामग्रीका साथै स्थानीयस्तरका लेख, रचना तथा गतिविधिहरूलाई समेत समेटिने जनाइएको छ।
हातेमालो बहुउद्देश्यीय सहकारीले वित्तीय कारोबारसँगै स्थानीय उत्पादन र उद्यमशीलतालाई प्राथमिकता दिँदै आएको छ। संस्थाले बहुउद्देश्यीय कार्यक्रमअन्तर्गत स्थानीय कृषि उपजलाई प्रशोधन तथा बजारीकरण गरी तोरीको तेल, बेसार र विभिन्न प्रकारका धान बजारमा ल्याउँदै आएको छ।
त्यसैगरी, स्थानीय किसान तथा सेवाग्राहीका लागि कृषि उपजको कुटानी, पिसानी तथा पेलानी सेवा समेत सञ्चालनमा रहेको संस्थाले जनाएको छ। यसबाट स्थानीय उत्पादनको उपयोग, प्रशोधन र बजारीकरणमा योगदान पुग्नुका साथै उपभोक्तालाई सहज सेवा उपलब्ध हुँदै आएको छ।
संस्थाले आगामी दिनमा सञ्चालनमा रहेका लघु उद्योगलाई थप व्यवस्थित र विस्तार गर्दै ठूला उद्योगका रूपमा विकास गर्ने दीर्घकालीन योजना अघि सारेको छ। स्थानीय स्रोत–साधनको अधिकतम उपयोग गर्दै उत्पादन, प्रशोधन, बजारीकरण र रोजगारी सिर्जनालाई सहकारीको आगामी कार्यदिशासँग जोड्ने लक्ष्य रहेको संस्थाका अध्यक्ष हेमराज सुवेदीले बताएका छन्।
२५औँ वर्ष प्रवेशको अवसरमा आयोजना गर्न लागिएको रजत जयन्ती सप्ताहलाई संस्थाको विगतको योगदानको समीक्षा गर्दै आगामी यात्राका लागि नयाँ योजना र कार्यदिशा तय गर्ने अवसरका रूपमा समेत लिइएको सहकारीले जनाएको छ।




