सुन्दरहरैंचा (मोरङ) : शिव भट्टराई भोजपुरे
भाद्र २० गते। मोरङको सुन्दरहरैंचा–१० स्थित पारिश्रमिक बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।संस्थाका जेष्ठ सदस्य रामप्रसाद तिम्सिनाको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष भीमप्रसाद आचार्यको अध्यक्षतामा साधारण सभा सम्पन्न भएको हो। कार्यक्रममा संस्थाका उपाध्यक्ष रामकुमार बस्नेतले स्वागत मन्तव्य राखेका थिए भने सचिव छत्रबहादुर काफ्लेले कार्यक्रम सञ्चालन गरेका थिए।

साधारण सभाको अवसरमा संस्थाले नयाँ लेखा समिति समेत चयन गरेको छ। निर्वाचन समितिका संयोजक सूर्यबहादुर बस्नेतका अनुसार लेखा समितिको अध्यक्षमा विष्णुप्रसाद गुरागाईँ चयन भएका छन्। त्यस्तै सदस्यमा रूपा उप्रेती (रिजाल) र पुष्पा भट्टराई चयन भएका छन्।

सभामा नियमित बचतकर्ता, ज्येष्ठ शेयर सदस्य, उत्कृष्ट कर्मचारी, उत्कृष्ट ऋण कारोबार गर्ने सदस्य, उत्कृष्ट अंक ल्याउन सफल विद्यार्थी, सफल बजार प्रतिनिधिलगायत विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा कर्मचारीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो।
कार्यक्रममा संस्थाका अध्यक्ष भीमप्रसाद आचार्यले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको आर्थिक तथा संस्थागत गतिविधि, प्रगति र आगामी योजनाबारे जानकारी गराएका थिए। उनले सदस्यहरूको विश्वास, सहभागिता र निरन्तर सहयोगका कारण संस्था स्थापनादेखि हालसम्मको यात्रामा अघि बढ्न सफल भएको बताए।

अध्यक्ष आचार्यले सहकारीलाई अझ व्यवस्थित, पारदर्शी र सदस्यकेन्द्रित बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा सदस्यको आर्थिक तथा सामाजिक हितलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए। संस्थाको दिगो विकासका लागि सदस्य, सञ्चालक समिति, लेखा समिति तथा कर्मचारीबीचको सहकार्य आवश्यक रहेकोमा उनले जोड दिए।
प्रमुख अतिथि रामप्रसाद तिम्सिनाले सहकारी संस्थाहरू सदस्यको आर्थिक अवस्था सुधार गर्ने महत्वपूर्ण माध्यम भएको बताउँदै संस्थाले बचत तथा ऋणसँगै सदस्यको हित र समुदायको विकासमा समेत ध्यान दिनुपर्ने बताए। उनले सहकारीको प्रगति र विश्वसनीयता कायम राख्न पारदर्शिता, आर्थिक अनुशासन, प्रभावकारी लेखापरीक्षण तथा सदस्यको सक्रिय सहभागिता महत्वपूर्ण हुने उल्लेख गरे।
साधारण सभामा जनप्रतिनिधि, संस्थाका सञ्चालक समिति, नवनिर्वाचित लेखा समिति, कर्मचारी, शेयर सदस्य तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। सभाले संस्थाको आगामी कार्यदिशा तथा सदस्य हितका विभिन्न विषयमा छलफल गर्दै सहकारीको संस्थागत सुशासन र विकासलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ।




