श्री पञ्चायत माविमा भोलि वृहत् पूर्वविद्यार्थी भेला हुँदै, उपस्थितिको लागि अनुरोध


Single Before Content Ad

सुन्दरहरैचा, मोरङ । शिव भट्टराई भोजपुरे

मोरङको सुन्दरहरैचा ७ स्थित श्री पञ्चायत माध्यमिक विद्यालय, गोठगाउँमा वृहत् पूर्वविद्यार्थी भेला आयोजना हुने भएको छ। विद्यालयमा विभिन्न समयमा अध्ययन गरेका पूर्वविद्यार्थीलाई एकै ठाउँमा भेला गराई आपसी भेटघाट, अनुभव आदान–प्रदान तथा विद्यालयसँगको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले भेला आयोजना गर्न लागिएको हो।

पूर्वविद्यार्थी भेला २०८३ साल भदौ २० गते बिहान ११ बजे विद्यालयको प्राङ्गणमा आयोजना हुने आयोजकले जनाएको छ। भेलामा विद्यालयका विभिन्न ब्याच तथा समयमा अध्ययन गरेका पूर्वविद्यार्थीहरूको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमबारे जानकारी दिँदै पूर्वविद्यार्थी तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पोस्ट कुमार श्रेष्ठले लामो समयपछि विद्यालयमा अध्ययन गरेका पूर्वविद्यार्थीलाई एउटै थलोमा जोड्ने उद्देश्यले भेला आयोजना गर्न लागिएको बताए। उनले पूर्वविद्यार्थीबीचको सम्बन्धलाई थप बलियो बनाउँदै विद्यालयको शैक्षिक तथा भौतिक विकासमा समेत पूर्वविद्यार्थीको भूमिका महत्वपूर्ण हुने धारणा व्यक्त गरे।

त्यस्तै, पूर्वविद्यार्थी भेला आयोजक समितिका संयोजक बलभद्र विष्टले विद्यालयसँग जोडिएका सबै पूर्वविद्यार्थीलाई भेलामा सहभागी हुन आग्रह गरेका छन्। उनले भेला केवल पुनर्मिलनमा सीमित नरही विद्यालयको वर्तमान अवस्था, आगामी आवश्यकता तथा विद्यालयको समग्र विकासमा पूर्वविद्यार्थीले गर्न सक्ने सहयोगका विषयमा समेत छलफल गर्ने उद्देश्य रहेको बताए।

भेलाका क्रममा पूर्वविद्यार्थीबीच पुराना अनुभव तथा सम्झना आदान–प्रदानसँगै विद्यालयको शैक्षिक उन्नति, भौतिक पूर्वाधार विकास र संस्थागत सम्बन्ध विस्तारका विषयमा समेत छलफल हुने आयोजकले जनाएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार