शिव भट्टराई भोजपुरे/ सुन्दरहरैचा
मेराे गौरव, मेराे सहारा सबैका लागि, सधैंका लागि” भन्ने मूल नाराका साथ सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९औँ वार्षिक साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ।

सहारा नेपाल साकोस सेवा केन्द्र विराटचोकको आयोजनामा सम्पन्न उक्त साधारण सभा सुन्दरहरैचा–८, सलकपुरस्थित भुल्के साकोसको कार्यालयमा आयोजना गरिएको हो। कार्यक्रममा संस्थाका सेयर सदस्यहरूको उल्लेख्य सहभागिता रहेको थियो।

साधारण सभामा सुन्दरहरैचा १२ कि वडा सदस्य निलम थापाको प्रमुख आतिथ्य रहेको थियो भने सेवा केन्द्र सहयोग समितिका संयोजक चिरञ्जीवी रेग्मीको सभापतित्व रहेको थियो।
सेवा केन्द्र प्रमुख कुसुम चुडालले सञ्चालन गरेको कार्यक्रममा
संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन तथा आगामी कार्ययोजनाबारे विस्तृत रूपमा छलफल गरिएको थियो।
कार्यक्रममा प्रमुख अतिथि थापाले बोल्दै सहकारी संस्थाले स्थानीय तहमा आर्थिक सशक्तिकरण र आत्मनिर्भरता विकासमा महत्वपूर्ण भूमिका खेलिरहेको बताइन्। उनले सदस्यहरूको नियमित बचत, पारदर्शी व्यवस्थापन र समुदायप्रतिको उत्तरदायित्वले सहकारीलाई दिगो बनाउने उल्लेख गर्दै सहारा नेपाल साकोसले यस क्षेत्रको विश्वास जित्न सफल भएको धारणा राखिन्। साथै, आगामी दिनमा पनि सहकारी र स्थानीय तहबीच सहकार्य आवश्यक रहेको उनले जोड दिइन्।
त्यसैगरी सेवा केन्द्र सहयोग समितिका संयोजक तथा कार्यक्रमका सभापति चिरञ्जीवी रेग्मीले सहारा नेपाल साकोस सदस्यहरूको विश्वास, सहभागिता र सहयोगकै कारण आज यो स्थानसम्म आइपुगेको बताए। उनले संस्थाले आर्थिक कारोबारसँगै सामाजिक उत्तरदायित्वलाई पनि प्राथमिकतामा राख्दै अघि बढिरहेको उल्लेख गर्दै आगामी दिनमा सेवा विस्तार र गुणस्तरीय सेवा प्रदानमा केन्द्रित हुने प्रतिबद्धता व्यक्त गरे।
सहकारीका केन्द्रिय पदाधिकारी लक्ष्मीप्रसाद आचार्यले संस्थाले हालसम्म हासिल गरेका उपलब्धिहरू प्रस्तुत गर्दै सदस्यहरूको विश्वास र सहयोगकै कारण सहारा नेपाल साकोस निरन्तर अघि बढिरहेको उल्लेख गरे।
कार्यक्रममा सहभागी अन्य वक्ताहरूले सहकारीले बचत, ऋण तथा सामाजिक उत्तरदायित्वका क्षेत्रमा खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाहमा जोड दिनुपर्ने बताएका थिए। साधारण सभा सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको आयोजकले जानकारी दिएको छ।
संस्थाले आफ्नो वार्षिक साधारण सभाको अवसरमा सहारा सहकारी पत्रकारिता पुरस्कार अन्तर्गत सुन्दरहरैचा अपडेटका संचालक शिव भट्टराई भोजपुरे, प्रो .मोहम्मद युनुस पुरस्कार, उत्कृष्ट उद्यमी पुरस्कार, राष्ट्रिय प्रतिभा पुरस्कार, उत्कृष्ट कारोबार पुरस्कार अन्तर्गत सहकारीका सदस्यहरूलाई सम्मान सहित पुरस्कृत गरिएको थियो।

