सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे । असोज २१ गते
मोरङको सुन्दरहरैँचा–३, गछिया निवासी कमला न्यौपाने (दाहाल) आज आफूले सिकेको सीपमा मात्र सीमित हुनुहुन्न। सीपलाई अवसरमा बदल्दै सफल व्यावसायिक यात्रा तय गर्नुभएकी न्यौपाने अहिले देशका विभिन्न स्थानमा पुगेर महिलालाई सीप सिकाउँदै आत्मनिर्भरता र स्वरोजगारको बाटो देखाउने अभियानमा सक्रिय हुनुहुन्छ।
CTEVT बाट सम्बन्धन प्राप्त मनकामना स्किल डेभलपमेन्ट एन्ड ट्रेनिङ सेन्टर प्रालिकी प्रबन्ध निर्देशक न्यौपानेले विभिन्न पालिका तथा प्रदेशमा सञ्चालन भएका सीपमूलक कार्यक्रममार्फत महिलालाई व्यावहारिक सीप प्रदान गर्दै आउनुभएको छ।
उहाँका लागि तालिम केवल केही दिनको प्रशिक्षण होइन, सीप सिकेर आफ्नै खुट्टामा उभिन सक्ने आधार तयार गर्ने माध्यम हो। त्यसैले उहाँले प्रशिक्षणका क्रममा सीप सिकाउनेसँगै त्यसलाई रोजगारी, स्वरोजगार र आयआर्जनसँग कसरी जोड्न सकिन्छ भन्ने विषयलाई समेत प्राथमिकता दिँदै आउनुभएको छ।
स्नातकोत्तर तहसम्मको शैक्षिक योग्यता हासिल गर्नुभएकी न्यौपानेले शिक्षासँगै प्राविधिक सीपको महत्वलाई आफ्नै जीवनमा प्रयोग गर्नुभएको छ। सीप परीक्षणको प्रमाणपत्रलाई समेत उहाँले आफ्नो व्यावसायिक यात्राको महत्वपूर्ण आधारका रूपमा लिनुभएको छ।
“मैले सीप परीक्षणको प्रमाणपत्रलाई अरूले शैक्षिक प्रमाणपत्रको रूपमा प्रयोग गरेजस्तै प्रयोग गर्दै आएकी छु। यसले मेरा लागि अवसरका धेरै ढोकाहरू खोलिदिएको छ,” न्यौपाने भन्नुहुन्छ।
उहाँका अनुसार प्रमाणपत्रले आफूलाई आफ्नो क्षेत्रमा अघि बढ्न र उत्कृष्टता हासिल गर्न सहयोग गरेको छ। त्यसैले अहिले उहाँ सीपको महत्व अरूलाई बुझाउँदै महिलालाई पनि सीप हासिल गरेर आत्मनिर्भर बन्न प्रेरित गर्दै आउनुभएको छ।
महिलाको हातमा सीप, परिवारमा आर्थिक बल
न्यौपानेको प्रशिक्षण अभियानमा विशेष प्राथमिकता महिलालाई दिइएको छ। मेहन्दी आर्ट, नेल आर्ट, मेकअप तथा सौन्दर्यसम्बन्धी विभिन्न सीप सिकाउँदै उहाँले महिलालाई आफ्नै सीपबाट आम्दानी गर्न सक्ने बनाउने प्रयास गरिरहनुभएको छ।
उहाँको बुझाइमा एउटी महिलाले सीप सिकेर आत्मनिर्भर बन्नु भनेको एउटा व्यक्तिको मात्र आर्थिक अवस्था परिवर्तन हुनु होइन। त्यसको प्रभाव परिवारको आर्थिक अवस्थामा पर्छ र महिलाको आत्मविश्वास तथा निर्णय क्षमतासमेत बलियो हुन्छ।
त्यसैले महिलालाई सीपसँग जोड्नु नै दीर्घकालीन आत्मनिर्भरताको आधार भएको उहाँको धारणा छ।
पालिका–पालिकामा पुगेर सीपको उज्यालो फैलाउँदै
देशका विभिन्न पालिका तथा प्रदेशमा पुगेर प्रशिक्षण दिँदै आएकी न्यौपानेले धेरै महिलालाई आफ्नो रुचि र क्षमताअनुसार सीप सिक्ने अवसर प्रदान गरिसक्नुभएको छ।
तालिमपछि केहीले आफ्नै व्यवसाय सुरु गर्ने, केहीले रोजगारी प्राप्त गर्ने र केहीले घरबाटै सेवा प्रदान गरी आम्दानी गर्न थालेको अनुभव उहाँसँग छ। यही परिवर्तनले आफूलाई थप काम गर्न प्रेरणा मिल्ने न्यौपाने बताउनुहुन्छ।
उहाँका लागि सफलताको मापन केवल आफ्नो संस्थाको विस्तार होइन, आफूले सिकाएको सीपबाट कति महिला आफ्नो खुट्टामा उभिन सके भन्ने कुरा हो।
अहिले पनि निरन्तर प्रशिक्षणमा
यही अभियानलाई निरन्तरता दिँदै न्यौपाने हाल इटहरीमा सम्पन्न भएको सीप तथा रोजगार मेला–२०८३ मा समेत तालिम सञ्चालन गर्नुभएको थियो। मेलामा उहाँको समन्वयमा मेहन्दी आर्ट, नेल आर्ट तथा मेकअपसम्बन्धी सीपमूलक तालिम सञ्चालन भएको थियो।
तर इटहरीको यो कार्यक्रम उहाँको लामो यात्राको एउटा पछिल्लो अध्याय मात्र हो। देशका विभिन्न ठाउँमा पुगेर महिलालाई सीप सिकाउने र सीपलाई आम्दानीसँग जोड्ने काम उहाँले निरन्तर गर्दै आउनुभएको छ।
सुन्दरहरैँचा–३ गछियाबाट सुरु भएको कमला न्यौपानेको यात्रा अहिले आफ्नै व्यवसाय सञ्चालन गर्ने सीमामा रोकिएको छैन। उहाँ आफू आत्मनिर्भर बन्नुभएर मात्र सन्तुष्ट हुनुभएन, अरू महिलालाई पनि आत्मनिर्भर बनाउने अभियानमा अघि बढिरहनुभएको छ।
उनको यात्राले एउटा बलियो सन्देश दिन्छ—
“सीप सिकेको हात बेरोजगार बस्नुपर्दैन, सही अवसर र आत्मविश्वास पाए त्यही हातले आफ्नो भविष्यसँगै अरूको भविष्य पनि बदल्न सक्छ।”




