सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे । आश्विन १६ गते
मोरङको सुन्दरहरैँचा–१०, खोर्सानेस्थित हातेमालो बहुउद्देश्यीय सहकारी संस्थाले २५ वर्षे यात्रा पूरा गरेको छ। २४औँ वार्षिक साधारणसभा तथा २५औँ स्थापना दिवस अर्थात् रजत जयन्ती विभिन्न कार्यक्रमसहित सम्पन्न गर्दै संस्थाले अब वित्तीय सेवासँगै उत्पादन र रोजगारी सिर्जनालाई समेत प्राथमिकतामा राख्ने जनाएको छ।
रजत जयन्तीको अवसरमा संस्थाले सदस्य तथा समुदायलाई प्रत्यक्ष लाभ पुग्ने गरी अर्गानिक बेसार उत्पादन तथा बजारीकरण, तोरीको तेल उत्पादन, चामल कुटानी–पिसानीलगायत उत्पादनमूलक गतिविधि अघि बढाइरहेको जनाएको छ। स्थानीयस्तरमा उत्पादन भएका कृषि उपजलाई प्रशोधन तथा बजारीकरणसँग जोड्दै सदस्य र स्थानीयलाई रोजगारी तथा आयआर्जनका अवसर सिर्जना गर्ने उद्देश्य सहकारीले लिएको छ।

संस्थाको २५ वर्षे यात्रालाई स्मरणीय बनाउन आयोजना गरिएको कार्यक्रममा सदस्य सम्मान, विद्यार्थी प्रोत्साहन, खेलकुद प्रतियोगिता, पुरस्कार वितरण, स्मारिका लोकार्पण तथा चिठ्ठा कार्यक्रमलगायतका गतिविधि सञ्चालन गरिएको थियो। रजत जयन्ती समापनका अवसरमा साँझ दिप प्रज्ज्वलन समेत गरिएको थियो।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले हातेमालो सहकारीले लामो समयदेखि सदस्यको विश्वास कायम राख्दै वित्तीय सेवासँगै सामाजिक तथा उत्पादनमूलक क्षेत्रमा समेत काम गर्दै आएको बताउनुभयो। उहाँले सहकारीले अब उत्पादन, रोजगारी र स्थानीय अर्थतन्त्रसँग जोडिने गतिविधिलाई अझ विस्तार गर्नुपर्ने बताउनुभयो।
संस्थाका अध्यक्ष हेमराज सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सचिव गुरुप्रसाद अधिकारीले सञ्चालन गर्नुभएको थियो भने उपाध्यक्ष मीनप्रसाद लिम्बूले स्वागत मन्तव्य राख्नुभएको थियो। अध्यक्ष सुवेदीले संस्थाको गतिविधि, उपलब्धि तथा आगामी योजनाबारे जानकारी गराउनुभयो।
रजत जयन्तीका अवसरमा प्रकाशित ‘हातेमालो स्मारिका–२०८३’ समेत लोकार्पण गरिएको थियो। कार्यक्रममा नयाँ शेयर सदस्यलाई स्वागत तथा लामो समयदेखि आबद्ध ज्येष्ठ शेयर सदस्यलाई सम्मान गरिएको थियो।
त्यस्तै उत्कृष्ट विद्यार्थी, उत्कृष्ट ऋणी, उत्कृष्ट बचतकर्ता तथा उत्कृष्ट बाल बचतकर्तालाई पुरस्कार प्रदान गरिएको थियो। रजत जयन्तीका अवसरमा आयोजना गरिएको खेलकुद प्रतियोगिताका विजेतालाई समेत पुरस्कृत गरिएको थियो। संस्थाको विकासमा योगदान पुर्याउने विभिन्न व्यक्तित्वलाई सम्मान गर्नुका साथै चिठ्ठा कार्यक्रममार्फत विभिन्न पुरस्कारसमेत वितरण गरिएको थियो।
संस्थाका व्यवस्थापक योजना शर्माले सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकको निरन्तर साथ र विश्वासले संस्था २५ वर्षसम्म आइपुगेको बताउनुभयो।
साधारणसभामा सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्की, भोजपूरे कल्याणकारी साकोसका अध्यक्ष राजेन्द्र कार्की, संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार अर्जुन बस्नेतलगायतको उपस्थिति रहेको थियो।




