सुन्दरहरैँचा (मोरङ) : शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैँचा–१०, विराटचोकस्थित हिमालय इङ्लिस स्कुलमा आयोजित निःशुल्क आँखा तथा दन्त स्वास्थ्य शिविरमा परीक्षण गरिएका अधिकांश विद्यार्थीको आँखामा समस्या देखिएको छ। चिकित्सकका अनुसार विद्यार्थीमा मोबाइल तथा अन्य डिजिटल उपकरणको अत्यधिक प्रयोगका कारण दृष्टि कमजोर हुने समस्या बढ्दो क्रममा देखिएको हो।

विद्यालयको आयोजना तथा नोबेल मेडिकल कलेज, विराटनगरको सहकार्यमा सोमबार विद्यालय परिसरमा एकदिने स्वास्थ्य शिविर सम्पन्न भएको हो। शिविरमा विद्यार्थीहरुको आँखा तथा दन्त परीक्षणसँगै आवश्यक स्वास्थ्य परामर्शसमेत प्रदान गरिएको थियो।

नोबेल मेडिकल कलेजका जनसम्पर्क अधिकृत नवीन दाहालका अनुसार स्वास्थ्य परीक्षणका क्रममा अधिकांश विद्यार्थीको आँखामा समस्या देखिएको थियो। विशेषगरी लामो समयसम्म मोबाइल चलाउने तथा स्क्रिन हेर्ने बानीका कारण केही विद्यार्थीको भिजन कम भएको पाइएको उहाँले बताउनु भयो।

त्यस्तै, दन्त परीक्षणका क्रममा केही विद्यार्थीको दाँतमा किरा लागेको पाइएको र आवश्यकताअनुसार त्यस्ता दाँतको उपचार तथा खोल्ने कामसमेत गरिएको दाहालले जानकारी दिनुभयो। उनले बालबालिकाले मोबाइल तथा डिजिटल उपकरण प्रयोग गर्ने समयलाई व्यवस्थित गर्नुपर्ने र नियमित रूपमा आँखा तथा दन्त स्वास्थ्य परीक्षण गराउनुपर्नेमा जोड दिनु भयो।
दाहालले नोबेल मेडिकल कलेजले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले विभिन्न स्थानमा यस्ता निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको बताउनु भएको थियो। समुदायस्तरमै पुगेर स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श दिने कार्यलाई कलेजले निरन्तरता दिँदै आएको उहाँको भनाइ छ।
विद्यालयका संस्थापक प्रिन्सिपल कमल खनालले स्वस्थ शरीर र स्वस्थ जीवनशैली विद्यार्थीको सिकाइ तथा सफलताका लागि महत्वपूर्ण रहेको बताउनु भयो। उनले शिक्षासँगै विद्यार्थीको स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै विद्यालयले स्वास्थ्यसम्बन्धी कार्यक्रम आयोजना गरेको बताउनु भयो।
शिविरमा सहभागी विद्यार्थीहरूले विद्यालयमै विशेषज्ञ चिकित्सकबाट निःशुल्क आँखा तथा दन्त परीक्षण गराउन पाउँदा खुसी व्यक्त गर्दै विद्यालय परिवारलाई धन्यवाद दिएका छन्। उनीहरूले पढाइसँगै स्वास्थ्यलाई पनि प्राथमिकता दिएर विद्यालयले आयोजना गरेको शिविर निकै उपयोगी भएको बताए।
शिविरमा विद्यार्थीहरुले निःशुल्क रूपमा आँखा तथा दन्त परीक्षण गराउनुका साथै विशेषज्ञ चिकित्सकबाट स्वास्थ्यसम्बन्धी आवश्यक जानकारी र परामर्श प्राप्त गरेका थिए।
विद्यालयले विद्यार्थीको शैक्षिक विकाससँगै शारीरिक तथा मानसिक स्वास्थ्यलाई समेत प्राथमिकतामा राख्दै आगामी दिनमा पनि यस्ता स्वास्थ्य तथा सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।




