सुन्दरहरैँचा, मोरङ ।शिव भट्टराई भोजपुरे, भाद्र ८ गते
मोरङको सुन्दरहरैँचा–१० मा रहेको बालप्रतिभा इङ्लिस स्कुलले जिल्लास्तरीय हिज्जे प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने आफ्ना विद्यार्थीहरूलाई सम्मान गरेको छ।

प्याब्सन मोरङको आयोजनामा २०८३ भदौ ७ गते आइतबार विराटनगरस्थित श्रीकृष्ण होटलमा कक्षा ५ सम्मका विद्यार्थीबीच भएको जिल्लास्तरीय हिज्जे प्रतियोगितामा जिल्लाका विभिन्न स्थानीय तहबाट छनोट भएका ४७ विद्यालयका विद्यार्थी सहभागी भएका थिए। उक्त प्रतियोगितामा बालप्रतिभा इङ्लिस स्कुलले तृतीय स्थान हासिल गरेको हो।
प्रतियोगितामा विद्यालयका डिजिसा पराजुली, क्रिष्चल श्रेष्ठ, आविष्कार खुलाल र युजिना लावर सहभागी भएका थिए। उनीहरूले सीमित तयारीका बीच पनि आत्मविश्वास, क्षमता र उत्कृष्ट प्रस्तुति प्रदर्शन गर्दै विद्यालयलाई तृतीय स्थान दिलाउन सफल भएका हुन्।
विद्यालयले विद्यार्थीहरूको सफलतालाई प्रोत्साहन गर्दै विशेष कार्यक्रम आयोजना गरी उनीहरूलाई सम्मान तथा पुरस्कार प्रदान गरेको जनाएको छ। कार्यक्रममा विद्यालयले विद्यार्थीको प्रतिभा पहिचानसँगै उनीहरूमा आत्मविश्वास अभिवृद्धि गर्न यस्ता सम्मान र प्रोत्साहनले महत्वपूर्ण भूमिका खेल्ने बताएको छ।
विद्यालय परिवारले प्रतियोगिताका लागि विद्यार्थीलाई तयारी गराउने तथा आवश्यक मार्गदर्शन र हौसला प्रदान गर्ने शिक्षकहरू र अभिभावकप्रति पनि आभार व्यक्त गरेको छ।
विद्यालयका प्रिन्सिपल गणेश प्रसाद दाहालका अनुसार बालप्रतिभा इङ्लिस स्कुलले विगतदेखि नै विभिन्न शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा विद्यार्थीको सहभागितालाई प्राथमिकता दिँदै आएको छ। प्रतियोगितामा प्राप्त तृतीय स्थानलाई आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने प्रेरणाका रूपमा लिइएको उहाँले बताउनु भयो।
सम्मान कार्यक्रममा विद्यालयले विद्यार्थीलाई आजको सफलतालाई अन्तिम उपलब्धि नठानी निरन्तर अभ्यास, अनुशासन, आत्मविश्वास र मेहनतका साथ अघि बढ्न आग्रह गरेको थियो।
विद्यालयले आगामी दिनमा पनि विभिन्न प्रतियोगितामा विद्यार्थीहरूको सक्रिय सहभागिता गराउँदै उनीहरूको प्रतिभा प्रस्फुटनका लागि आवश्यक वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
जिल्लास्तरीय प्रतियोगितामा ४७ विद्यालयबीच तृतीय स्थान हासिल गरी विद्यालयको गौरव बढाउने विद्यार्थीहरूलाई विद्यालय परिवारले बधाई तथा आगामी सफलताका लागि शुभकामना व्यक्त गरेको छ।




