सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे, भाद्र १८ गते
मोरङको सुन्दरहरैँचा नगरपालिका–५ मा नगरपालिकाको गौरवको योजनाअन्तर्गत दुई करोड रुपैयाँको लागतमा ४४ फिट चौडाइको सडक निर्माण तीव्र गतिमा अघि बढिरहेको छ। स्थानीय पूर्वाधार विकाससँगै पर्यटकीय क्षेत्र हसिना सिमसारको पहुँच विस्तार गर्ने उद्देश्यले सडक निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाइएको हो।

नगरपालिकाको एक करोड रुपैयाँ र वडा कार्यालयको एक करोड रुपैयाँ गरी कुल दुई करोड रुपैयाँको संयुक्त लगानीमा सडक निर्माण भइरहेको वडा नं. ५ का वडाध्यक्ष गणेश चौधरीले सुन्दरहरैचा अपडेटलाई जानकारी दिनुभयो।
बाँसबारी चोकदेखि अमरज्योति हुँदै बलिया जोड्ने सडक तथा गुरुङटोल हुँदै नमुना सामुदायिक वनको गेटसम्म पुग्ने सडकलाई स्तरोन्नति गर्दै ४४ फिट चौडाइमा निर्माण अघि बढाइएको हो। हाल सडकको सब–बेस निर्माणको काम भइरहेको र त्यसपछि कालोपत्रेको चरणमा प्रवेश गर्ने वडाध्यक्ष चौधरीले बताउनुभयो।
निर्माण कार्यलाई तीव्रता दिइएकाले आगामी दशैँअघि नै सडक कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको उहाँको भनाइ छ।
हसिना सिमसारलाई पर्यटनसँग जोड्ने लक्ष्य
गुरुङटोल हुँदै नमुना सामुदायिक वनको गेटसम्म निर्माण भइरहेको सडकलाई विशेषगरी पर्यटकीय क्षेत्र हसिना सिमसारसँग जोड्ने महत्वपूर्ण मार्गका रूपमा विकास गर्न खोजिएको वडाध्यक्ष चौधरीले बताउनुभयो।
सडक निर्माण सम्पन्न भएपछि हसिना सिमसार पुग्ने पर्यटक तथा स्थानीयको आवागमन सहज हुनुका साथै क्षेत्रको पर्यटन प्रवर्द्धनमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ। सडकले स्थानीय बस्तीलाई मुख्य सडकसँग जोड्नुका साथै केराबारीतर्फ आवतजावत गर्ने सर्वसाधारणका लागि समेत वैकल्पिक तथा महत्वपूर्ण मार्गको भूमिका निर्वाह गर्नेछ।
सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले नगरका विभिन्न वडामा सडक पूर्वाधार निर्माणको कामलाई प्राथमिकताका साथ अघि बढाइएको बताउनुभएको छ।
सडक निर्माणसँगै स्थानीयमा बढ्यो उत्साह
वडा सदस्य घनश्याम घले गुरुङले सडक निर्माण सुरु भएपछि स्थानीय बासिन्दामा उत्साह र खुसी बढेको बताउनुभयो। लामो समयदेखि स्तरोन्नतिको आवश्यकता रहेको सडक फराकिलो बनाएर पक्की गर्न थालिएपछि दैनिक आवतजावतमा सहजता आउने उहाँको भनाइ छ।
स्थानीय बासिन्दाले पनि सडक निर्माणपछि वर्षायाममा हुने हिलो, धुलो तथा आवतजावतको समस्या कम हुने विश्वास व्यक्त गरेका छन्। बजारसम्मको पहुँच सहज हुनुका साथै हसिना सिमसार क्षेत्रमा पुग्ने पर्यटकको संख्या बढ्न सक्ने उनीहरूको अपेक्षा छ।
सडक पक्की भएपछि विद्यार्थी, किसान, व्यवसायी तथा दैनिक आवतजावत गर्ने सर्वसाधारण प्रत्यक्ष रूपमा लाभान्वित हुने स्थानीयको भनाइ छ। साथै, सडकले गाउँबस्तीलाई मुख्य सडक सञ्जालसँग जोड्दै स्थानीय व्यापार, पर्यटन तथा आर्थिक गतिविधिलाई समेत चलायमान बनाउने अपेक्षा गरिएको छ।
४४ फिट चौडाइमा निर्माण भइरहेको यो सडक योजना सम्पन्न भएपछि सुन्दरहरैँचा–५ को यातायात पहुँच थप व्यवस्थित हुनुका साथै हसिना सिमसारको पर्यटन विकास र स्थानीय आर्थिक गतिविधिमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।




