शिव भट्टराई भोजपुरे, सुन्दरहरैँचा/ असार २४ गते
मोरङको सुन्दरहरैँचा नगरपालिका–१० स्थित सिद्धार्थ सेकेण्डरी स्कुलले कक्षा ११ मा अध्ययनका लागि भर्ना भएका नयाँ विद्यार्थीहरूको भव्य स्वागत कार्यक्रम सम्पन्न गरेको छ। सांगीतिक प्रस्तुति, सांस्कृतिक नृत्य, प्रेरणादायी सन्देश र उत्साहपूर्ण वातावरणबीच सम्पन्न कार्यक्रमले नयाँ शैक्षिक सत्रको सुरुआतलाई थप उल्लासमय बनाएको थियो।
विद्यालय परिवारले खादा, टीका तथा शुभकामनासहित नवआगन्तुक विद्यार्थीलाई स्वागत गर्दै उनीहरूको सफल शैक्षिक यात्राको शुभकामना व्यक्त गरेको थियो। कार्यक्रममा विद्यार्थीहरूले आकर्षक सांस्कृतिक तथा सांगीतिक प्रस्तुति दिएका थिए भने शिक्षक तथा सिनियर विद्यार्थीहरूले विद्यालयको अनुशासन, संस्कार र शैक्षिक वातावरणबारे जानकारी गराएका थिए।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका संस्थापक प्रिन्सिपल अर्जुन बस्नेतले शिक्षा केवल प्रमाणपत्र प्राप्त गर्ने माध्यम नभई असल, जिम्मेवार र नैतिक नागरिक निर्माण गर्ने आधार भएको बताउनुभयो। उहाँले भन्नुभयो, "हामी विद्यार्थीलाई केवल राम्रो नतिजाका लागि मात्र होइन, जीवनमा सफल, जिम्मेवार र समाजप्रति उत्तरदायी नागरिक बनाउन प्रतिबद्ध छौं। सिद्धार्थ सेकेण्डरी स्कुलले गुणस्तरीय शिक्षासँगै अनुशासन, संस्कार, नेतृत्व विकास र प्रविधिमैत्री शिक्षालाई समान प्राथमिकतामा राख्दै आएको छ। यही कारण अभिभावक र विद्यार्थीको विश्वास वर्षेनि बढ्दै गएको छ।"

बस्नेतले विद्यालय स्थापनाकालदेखि नै गुणस्तरीय शिक्षाको अभियानलाई निरन्तरता दिँदै आएको उल्लेख गर्दै शिक्षा क्षेत्रमा गरिएको लगानी नै समाज परिवर्तनको सबैभन्दा बलियो आधार भएको धारणा व्यक्त गर्नुभयो। सीमित स्रोतबाट सुरु भएको विद्यालय आज सुन्दरहरैँचा क्षेत्रकै विश्वासिलो शैक्षिक संस्थाका रूपमा स्थापित हुनुमा शिक्षक, अभिभावक, विद्यार्थी तथा शुभेच्छुकहरूको साझा योगदान रहेको उहाँले बताउनुभयो।
कार्यक्रममा विद्यालयका शिक्षक, कर्मचारी, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले सांगीतिक प्रस्तुतिसहितको स्वागत कार्यक्रमले नयाँ विद्यार्थीमा विद्यालयप्रति आत्मीयता, आत्मविश्वास र उत्साह थपेको प्रतिक्रिया दिएका थिए।
विद्यालयले हरेक वर्ष यस्ता विद्यार्थीमैत्री कार्यक्रममार्फत नवप्रवेशी विद्यार्थीलाई आत्मीय वातावरण प्रदान गर्दै आएको जनाएको छ। गुणस्तरीय शिक्षा, आधुनिक शिक्षण पद्धति, अतिरिक्त क्रियाकलाप तथा संस्कारयुक्त शिक्षामार्फत सक्षम र जिम्मेवार जनशक्ति उत्पादन गर्ने लक्ष्यसहित विद्यालयले आफ्नो शैक्षिक अभियानलाई निरन्तर अघि बढाइरहेको जनाएको छ।




