शिव भट्टाराई भोजपूरे/ सुन्दरहरैचा ।असार ३० गते
हरेक सफल समाजको आधार गुणस्तरीय शिक्षा हो। शिक्षा केवल अक्षर चिनाउने माध्यम मात्र होइन, सक्षम, जिम्मेवार र संस्कारित नागरिक निर्माण गर्ने बलियो आधार पनि हो। यही उद्देश्यलाई आत्मसात् गर्दै मोरङको सुन्दरहरैँचा–८ मा अवस्थित शिक्षा निकेतन माध्यमिक विद्यालय विगत चार दशकदेखि निरन्तर गुणस्तरीय शिक्षाको अभियानमा समर्पित रहँदै आएको छ।

वि.सं. २०४४ साल पुस ९ गते जनस्तरबाट, जनताको सक्रिय सहभागिता र संस्थापक अध्यक्ष कृष्णप्रसाद प्रसाईंको नेतृत्वमा पिठारीको स्याउलाबाट साधारण छाप्रो निर्माण गरेर सुरु भएको यस विद्यालय आज आधुनिक पूर्वाधारसहितको प्रतिष्ठित शैक्षिक संस्थाका रूपमा स्थापित भएको छ। संस्थापक प्रधानध्यापक योगेन्द्र खनाल रहनुभई कक्षा ३ सम्म अन्दाजी १०० विद्यार्थीहरु बाट सुरु गरिएको यस विद्यालय स्थानीय शिक्षा प्रेमी, अभिभावक, दानवीर दाताहरु तथा समुदायको निरन्तर साथ, सहयोग र विश्वासले विद्यालयलाई आजको उचाइसम्म पुर्याएको छ।

हाल विद्यालय दुईवटा ब्लकबाट सञ्चालन भइरहेको छ। वि.सं. २०७६ सालमा स्थानीय तहको निर्णयअनुसार साविक सूर्योदय आधारभूत विद्यालय यस विद्यालयमा समायोजन भएपछि सलकपुर र सूर्योदय ब्लकमार्फत शैक्षिक गतिविधि सञ्चालन हुँदै आएको छ। हाल सलकपुर ब्लकमा कक्षा १० सम्म नेपाली माध्यम र सूर्योदय ब्लकमा कक्षा १२ सम्म अंग्रेजी र नेपाली माध्यमका कक्षाहरू सञ्चालन भइरहेका छन्। विद्यालयमा शिक्षा, व्यवस्थापन तथा कम्प्युटर विषयको अध्ययन–अध्यापन हुँदै आएको छ।

एक हजारभन्दा बढी विद्यार्थी र करिब ४० जना दक्ष तथा अनुभवी शिक्षक रहेको यस विद्यालयले राष्ट्रिय पाठ्यक्रममा आधारित शिक्षा प्रदान गर्दै आधुनिक प्रविधियुक्त शिक्षालाई विशेष प्राथमिकता दिएको छ। कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, डिजिटल सिकाइ तथा विद्यार्थीमैत्री शिक्षण पद्धतिमार्फत विद्यार्थीलाई समयानुकूल ज्ञान र सीप प्रदान गरिँदै आएको छ।

विद्यालयले शैक्षिक योग्यतासँगै व्यवहारिक ज्ञानलाई पनि उत्तिकै महत्त्व दिएको छ। अतिरिक्त क्रियाकलाप अन्तर्गत डोको, डालो, नाम्लो, दुना, टपरी बुन्ने जस्ता परम्परागत सीप सिकाइने कार्यक्रम सञ्चालन गर्दै आएको प्रधानध्यापक ठाकुर प्रसाद सुवेदीले बताउनु भएको छ। साथै उद्योगपति, सामाजिक व्यक्तित्व तथा विभिन्न क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया कार्यक्रम सञ्चालन गरी विद्यार्थीलाई जीवनोपयोगी ज्ञान, नेतृत्व क्षमता र व्यावहारिक अनुभवसँग जोड्ने प्रयास निरन्तर भइरहेको उहाँको भनाई छ। उहाँको अनुसार भविष्यमा प्राविधिक धारका कक्षाहरू सञ्चालन गर्ने विद्यालयको योजना रहेको छ।
शिक्षा निकेतन माध्यमिक विद्यालय सुन्दरहरैँचा नगरपालिकाका गुणस्तरीय विद्यालयहरूमध्ये अग्रपंक्तिमा परिचित छ। विद्यालयको शान्त, स्वच्छ र फराकिलो वातावरण, अनुशासित शैक्षिक संस्कृति, अनुभवी शिक्षक र विद्यार्थी केन्द्रित शिक्षण प्रणालीले अभिभावकको विश्वास जित्न सफल भएको छ। यही कारण आज यो विद्यालय धेरै अभिभावकहरू तथा स्थानीयबासीको पहिलो रोजाइ बनेको छ। विद्यालयले प्रत्येक विद्यार्थीको क्षमता पहिचान गरी व्यक्तिगत रूपमा मार्गदर्शन गर्ने संस्कृतिले पनि अभिभावकको भरोसा अझ बलियो बनाएको छ।
विद्यार्थीहरू पनि विद्यालयप्रति उत्तिकै उत्साहित देखिन्छन्। उनीहरूका अनुसार यहाँको पढाइ रोचक र व्यवहारिक छ। साथीभाइसँग मिलेर नयाँ कुरा सिक्ने, आफ्ना प्रतिभा प्रस्तुत गर्ने र आत्मविश्वास बढाउने वातावरण विद्यालयले सिर्जना गरेको उनीहरूको अनुभव छ।
शैक्षिक उपलब्धिसँगै अतिरिक्त क्रियाकलापमा पनि विद्यालयले उल्लेखनीय सफलता हासिल गर्दै आएको छ। नगरस्तरीय विभिन्न प्रतियोगिताहरूमा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयले अनेकौँ पुरस्कार तथा सम्मान प्राप्त गरेको छ। विद्यालयले खेलकुद, सांस्कृतिक कार्यक्रम, हाजिरीजवाफ, वक्तृत्वकला, नृत्य, गायन तथा अन्य प्रतिभा प्रस्फुटनका कार्यक्रम नियमित रूपमा सञ्चालन गरिँदै आएको सहायक प्रधानध्यापक घनश्याम ढकालले बताउनु भएको छ।
हाल विद्यालयको थप भवन निर्माणाधीन अवस्थामा रहेको छ। आधुनिक पूर्वाधार विस्तारसँगै शिक्षण–सिकाइलाई अझ प्रभावकारी बनाउने योजना अघि बढाइएको विद्यालायले प्रशासनले सुन्दरहरैचा अपडेटलाई जानकारी दिएको छ। आगामी १० वर्षभित्र शिक्षा निकेतन माध्यमिक विद्यालयलाई मोरङ जिल्ला मात्र नभई पूर्वी नेपालकै उत्कृष्ट शैक्षिक संस्थाका रूपमा स्थापित गर्ने स्पष्ट लक्ष्यका साथ विद्यालय निरन्तर अघि बढिरहेको उहाँ बताउनु हुन्छ।
छाप्रोबाट सुरु भएको एउटा सपना आज हजारौँ विद्यार्थीको भविष्य निर्माण गर्ने शिक्षालय बनेको छ। गुणस्तरीय शिक्षा, आधुनिक प्रविधि, व्यवहारिक सीप, अनुशासन, संस्कार र सामाजिक उत्तरदायित्वलाई सँगसँगै अघि बढाउँदै शिक्षा निकेतन माध्यमिक विद्यालय सक्षम, सिर्जनशील र जिम्मेवार नागरिक निर्माणको यात्रामा दृढतापूर्वक अगाडि बढिरहेको छ।




