भुल्के बचत तथा ऋण सहकारीको २१औँ साधारण सभा सम्पन्न, ज्येष्ठ नागरिक सहित उत्कृष्ट कारोबार गर्ने सदस्य सम्मानित


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे । असोज २५ गते

मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित भुल्के बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। साधारण सभामा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईको प्रमुख आतिथ्य तथा संस्थाका अध्यक्ष टीकाराम ढकालको अध्यक्षता रहेको थियो।

 कार्यक्रममा प्रमुख अतिथि गुरागाईले सहकारी संस्थाहरूले सदस्यहरूको आर्थिक अवस्था सुधार गर्न र बचत गर्ने बानीको विकास गराउन महत्त्वपूर्ण भूमिका खेल्ने बताए। सहकारीले पारदर्शिता, सुशासन र सदस्यको हितलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा उनले जोड दिए।

साधारण सभामा लेखा सुपरिवेक्षण समितिका संयोजक प्रेमराज रेग्मीले समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए। संस्थाका उपाध्यक्ष श्याम प्रसाद ढकालले संचालन गर्नु भएको उक्त सभामा संस्थाको आर्थिक अवस्था, प्रगति तथा गतिविधिका विषयमा छलफल गरिएको थियो।

साधारण सभाको अवसरमा संस्थाले उत्कृष्ट ऋण कारोबार गर्ने सेयर सदस्य भेषराज कालाखेती र सावित्रा बानियाँ तथा उत्कृष्ट बचत कारोबार गर्ने सेयर सदस्य इनरकुमारी खवास र चुडामणि कटवाललाई सम्मान गरेको थियो।

त्यसैगरी, सेयर सदस्यका परिवारका ज्येष्ठ नागरिकलाई सम्मान गर्ने क्रममा सेयर सदस्य टीकाराम ढकालकी ८९ वर्षीया माता कर्णमाया ढकाल र सेयर सदस्य भेषराज कालाखेतीका ९० वर्षीय पिता छविलाल कालाखेतीलाई सम्मान गरिएको थियो।

सहकारीले ज्येष्ठ नागरिकको सम्मानसँगै उत्कृष्ट बचतकर्ता तथा ऋण कारोबार गर्ने सदस्यलाई पुरस्कृत गरेर सदस्यहरूलाई प्रोत्साहित गरेको हो।

भुल्के बचत तथा ऋण सहकारी संस्थाले हालसम्म ७५६ जना सेयर सदस्य बनाउन सफल भएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार