मोरङ । असोज २४ गते/
स्थानीय उत्पादन, व्यापार, पर्यटन, कला–संस्कृति तथा उद्यमशीलताको प्रवद्र्धन गर्ने उद्देश्यले मोरङको सुन्दरहरैँचामा ‘सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३’ आयोजना हुने भएको छ । सुन्दरहरैँचा उद्योग वाणिज्य संघको आयोजनामा असोज २५ गतेदेखि कार्तीक १० गतेसम्म फेस्टिभल सञ्चालन हुने भएको हो ।

आयोजकले शुक्रबार पत्रकार सम्मेलन गरी फेस्टिभलको तयारी, उद्देश्य तथा कार्यक्रमबारे जानकारी दिएको छ । सुन्दरहरैँचा नगरपालिका–१० स्थित सुन्दरहरैँचा औद्योगिक प्रदर्शनी केन्द्रमा आयोजना हुने फेस्टिभल दुई लाखभन्दा बढी दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

फेस्टिभलमा विभिन्न प्रकृतिका १४ वटा व्यावसायिक स्टल रहनेछन् भने स्थानीय उत्पादन, सामाजिक तथा सांस्कृतिक क्षेत्रको प्रवद्र्धनका लागि ६ वटा निःशुल्क स्टलसमेत उपलब्ध गराइनेछ । स्थानीय तथा मौलिक खाद्य परिकार, कृषि तथा घरेलु उत्पादन, हस्तकला र व्यावसायिक सामग्रीको प्रदर्शनी तथा बिक्रीलाई प्राथमिकता दिइने आयोजक सुन्दरहरैँचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिनुभयो ।
दसैँ, तिहार, नेपाल संवत् तथा छठ पर्वलाई लक्षित गरी विशेष साँस्कृतिक कार्यक्रमसमेत सञ्चालन गरिने जनाइएको छ । राष्ट्रिय तथा स्थानीय कलाकारका सांगीतिक एवं सांस्कृतिक प्रस्तुति रहने फेस्टिभलमा दर्शक तथा बालबालिकालाई लक्षित गरी मनोरञ्जनात्मक र खेलकुद गतिविधिसमेत सञ्चालन गरिनेछ ।
फेस्टिभलको अनुमानित आम्दानी एक करोड दुई लाख रुपैयाँ र खर्च ८७ लाख रुपैयाँ रहने आयोजकको अनुमान छ । टिकट बिक्रीबाट ८५ लाख, मुख्य प्रायोजक तथा सहप्रायोजकबाट १० लाख र मनोरञ्जन तथा खेलकुद गतिविधिबाट सात लाख रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ । खर्च कटाएर करिब १५ लाख रुपैयाँ बचत गर्ने लक्ष्य राखिएको छ ।
फेस्टिभलबाट प्राप्त बचत रकम संघको संस्थागत विकास, व्यवसायीको हित, सामाजिक उत्तरदायित्व तथा आगामी कार्यक्रम सञ्चालनमा उपयोग गरिने जनाइएको छ । फेस्टिभललाई मनोरञ्जनमा मात्र सीमित नराखी स्थानीय उत्पादनको बजार विस्तार, व्यापार प्रवर्धन, पर्यटन विकास र उद्यमशीलता अभिवृद्धि गर्ने साझा मञ्चका रूपमा विकास गर्ने आयोजकको लक्ष्य छ ।
फेस्टिभल अवधिभर सुरक्षा, सरसफाइ, विद्युत्, खानेपानी, पार्किङ, प्राथमिक उपचार तथा भीड व्यवस्थापनलाई प्राथमिकता दिइनेछ । कार्यक्रमलाई व्यवस्थित र पारिवारिक वातावरणमा सम्पन्न गर्न सुरक्षा निकाय, स्थानीय तह, व्यवसायी, सञ्चारमाध्यम तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरिने आयोजकले जनाएको छ ।
सुन्दरहरैँचा फुड फेस्टिभल–२०८३ का संयोजक ज्ञानप्रसाद ढकालले स्थानीय उत्पादनको प्रवर्धन, व्यापारको विस्तार, पर्यटनको विकास र सुन्दरहरैँचाको पहिचान स्थापित गर्न फेस्टिभलले योगदान पुर्याउने अपेक्षा गरिएको जानकारी दिनुभयो ।
आयोजकका अनुसार फेस्टिभलको मुख्य प्रायोजक नेपालीरिका होटल रहेको छ भने विभिन्न उद्योग तथा व्यवसायिक संस्थाहरूले प्रायोजन गरेका छन् ।




