शिव भट्टराई भोजपुरे, सुन्दरहरैँचा मोरङ। असार २८ गते
मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित निर्माणाधीन सुन्दरहरैँचा नगर अस्पतालको प्रशासनिक भवन निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ। आधुनिक सुविधासम्पन्न भवन तोकिएको समयभित्र सम्पन्न गर्ने लक्ष्यका साथ निर्माण कार्य भइरहेको छ।
बिहिवार नगर प्रमुख केदार प्रसाद गुरागाईको नेतृत्वमा कर्मचारी तथा सञ्चारकर्मीहरूको टोलीले निर्माणस्थलको अनुगमन गरेको थियो। अनुगमनका क्रममा निर्माण कार्यको प्रगति, गुणस्तर तथा तोकिएको समयसीमाभित्र सम्पन्न गर्ने तयारीबारे जानकारी लिइएको थियो।
अनुगमनपछि नगर प्रमुख गुरागाईले स्वास्थ्य पूर्वाधारको विकास नगरपालिकाको प्रमुख प्राथमिकतामध्ये एक रहेको बताउँदै गुणस्तरीय निर्माणमा कुनै सम्झौता नगर्न निर्माण कम्पनीलाई निर्देशन दिए। उनले तोकिएको समयमै भवन निर्माण सम्पन्न गरी नागरिकलाई आधुनिक र व्यवस्थित स्वास्थ्य सेवा उपलब्ध गराउने नगरपालिकाको लक्ष्य रहेको उल्लेख गरे।
परियोजना सूचना बोर्डअनुसार प्रशासनिक भवन निर्माणको ठेक्का प्रविण निर्माण सेवा, दमक–५, झापा ले पाएको हो। निर्माण कार्यका लागि ६ करोड ५१ लाख ५३ हजार ८८० रुपैयाँ ४ पैसा (भ्याट तथा प्रोभिजनल समसहित) को सम्झौता भएको हो। २०८१ साल चैत २२ गते सुरु भएको सम्झौता अनुसार निर्माण सम्पन्न गर्ने मिति २०८४ साल वैशाख २५ गते रहेको कर्मचारीले सुन्दरहरैचा अपडेटलाई जानकारी दिएका छन्।
निर्माण कार्यको प्राविधिक सुपरिवेक्षण इन्जिनियर सचिन आचार्य तथा सब–इन्जिनियर तमन्ना गुरुङले गरिरहेका छन्। भवन निर्माण सम्पन्न भएपछि अस्पतालको प्रशासनिक सेवा थप व्यवस्थित, प्रभावकारी र सेवाग्राहीमैत्री हुने विश्वास गरिएको छ।




