सुन्दरहरैँचा । शिव भट्टराई भोजपुरे, असोज २८ गते
नेपालीहरूको महान् पर्व बडादशैँको धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक महत्त्वबारे विद्यार्थीलाई जानकारी गराउँदै मोरङको सुन्दरहरैँचा नगरपालिका–८, सलकपुरस्थित क्वेष्ट इङ्लिस स्कुलमा दशैँ विशेष कार्यक्रम आयोजना गरिएको छ।
विद्यार्थीलाई नवरात्रिका नौ दिनमा नवदुर्गाका विभिन्न स्वरूपको पूजा–आराधना गरिने परम्परा र त्यसको महत्त्व बुझाउने उद्देश्यले विद्यालयमा विशेष कार्यक्रम गरिएको हो। कार्यक्रममा विद्यार्थीहरूले विभिन्न मातृशक्तिका स्वरूप झल्किने भेषभूषा धारण गरी नवरात्रिको धार्मिक तथा सांस्कृतिक महत्त्व प्रस्तुत गरेका थिए।

कार्यक्रममा दशैँको परम्पराअनुसार विद्यार्थीले टीका र जमरा लगाउँदै शिक्षक–शिक्षिकाबाट आशीर्वादसमेत ग्रहण गरेका थिए। यस्ता गतिविधिले विद्यार्थीलाई पाठ्यपुस्तकको ज्ञानसँगै नेपाली मौलिक संस्कृति, धार्मिक परम्परा र संस्कारबारे व्यवहारिक रूपमा बुझ्न सहयोग पुग्ने विद्यालयको विश्वास छ।

विद्यालयका प्रिन्सिपल दीपक क्षेत्रीले दशैँ केवल टीका र जमरामा सीमित पर्व नभई नेपाली समाजको धार्मिक आस्था, सांस्कृतिक पहिचान र पारिवारिक एकताको प्रतीकसमेत भएको बताए।
उनले विद्यार्थीहरुलाई सानै उमेरदेखि नवरात्रिको धार्मिक महत्त्व, टीका–जमराको परम्परा र पिङ खेल्ने चलनजस्ता गतिविधिमार्फत विद्यार्थीलाई नेपाली मौलिक संस्कृतिसँग परिचित गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको धारणा राखे।।
विद्यालयले शिक्षासँगै नेपाली मौलिक परम्परा, संस्कृति र नैतिक मूल्य–मान्यताबारे विद्यार्थीलाई परिचित गराउने उद्देश्यले यस्ता रचनात्मक कार्यक्रमलाई महत्त्व दिँदै आएको छ।




