शिव भट्टराई भोजपुरे/ माघ २१ गते
सुन्दरहरैँचा।मोरङको सुन्दरहरैँचा नगरपालिकाको विभिन्न वार्डको विभिन्न टाेलमा ३० वर्षभन्दा माथिका नागरिकहरूलाई लक्षित गर्दै निःशुल्क नसर्ने रोग (NCD) स्क्रिनिङ स्वास्थ्य शिविर सञ्चालनमा आएको छ।

माघ १८ गते देखि सुन्दरहरैचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईद्वारा स्वास्थ्य परिक्षण गरि उक्त कार्यक्रम सुरु भएको हो। पछिल्लो समय आधुनिक जीवनशैली, असन्तुलित खानपान र शारीरिक गतिविधिको कमीका कारण मधुमेह, उच्च रक्तचाप लगायत नसर्ने रोगहरूको जोखिम बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै शिविर आयोजना गरिएको नगरपालिकाको स्वास्थ्य शाखाले सुन्दरहरैचा अपडेटलाई जानकारी दिएका छन्।

चरणबद्द रुपमा संचालन भईरहेको उक्त शिविरमा सहभागी नागरिकहरूको सुगर (मधुमेह), रक्तचाप (ब्लड प्रेसर) र बडी मास इन्डेक्स (BMI) निःशुल्क परीक्षण गरिनुका साथै आवश्यक परामर्श सेवा समेत प्रदान गरिनेछ। यस कार्यक्रमले प्रारम्भिक अवस्थामै रोग पहिचान गरी समयमै उपचार गर्न सहयोग पुग्ने विश्वास लिइएको छ।
माघ २६ गते सम्म संचालन हुने उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा नगरपालिकाले लक्षित उमेर समूहका सबै नागरिकलाई शिविरमा सहभागी भई स्वास्थ्य परीक्षण गराउन अनुरोध गरेको छ।
