विराटनगर। विश्व क्यान्सर दिवसको अवसरमा नोबेल क्यान्सर अस्पतालले निरन्तर चिकित्सकीय शिक्षा (Continuing Medical Education – CME) कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ।

क्यान्सर उपचार तथा व्यवस्थापनमा चिकित्सकहरूको ज्ञान, सीप र अनुभव अभिवृद्धि गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान; बी एन्ड सी अस्पताल, बिर्तामोड (पूर्वाञ्चल क्यान्सर अस्पताल); कोशी अस्पताल, विराटनगर तथा विराट मेडिकल कलेज टिचिङ अस्पतालका विशेषज्ञ चिकित्सकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा क्यान्सर रोगको समयमै पहिचान, आधुनिक उपचार प्रविधि, नयाँ औषधि तथा उपचार पद्धतिहरूका विषयमा प्रस्तुति तथा अन्तरक्रियात्मक छलफल गरिएको थियो। सहभागी चिकित्सकहरूले आ–आफ्नो अनुभव साटासाट गर्दै उपचार सेवाको गुणस्तर सुधार गर्ने उपायहरूबारे समेत विचार आदान–प्रदान गरेका थिए।
अस्पतालका पदाधिकारीहरूले यस्ता शैक्षिक कार्यक्रमले चिकित्सकहरूलाई अद्यावधिक ज्ञानसँग जोड्नुका साथै बिरामीलाई प्रभावकारी र गुणस्तरीय सेवा प्रदान गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
क्यान्सरसम्बन्धी जनचेतना अभिवृद्धि र उपचार प्रणालीलाई थप सुदृढ बनाउने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अस्पतालले जनाएको छ।
