साजिलाल मा.विको ६०औँ वार्षिकोत्सव तथा अभिभावक दिवसमा अक्षयकोष छात्रवृत्ति तथा पुरस्कार वितरण


shiva
Single Before Content Ad

सुन्दरहरैचा/

शिक्षा केवल पाठ्यपुस्तकमा सीमित नहुने यथार्थलाई व्यवहारमा उतार्दै आएको मोरङको सुन्दरहरैंचा नगरपालिका–६, दुलारीस्थित सजिलाल माध्यमिक विद्यालयले बुधबार आफ्नो ६०औँ वार्षिकोत्सव तथा अभिभावक दिवस विशेष कार्यक्रमका साथ मनाएको छ। अवसरमा अक्षयकोष छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रम अक्षयकोष समिति अध्यक्ष कल्याणप्रसाद सिटौलाको अध्यक्षतामा सम्पन्न भएको हो भने प्रमुख अतिथिका रूपमा शिक्षा विकास निर्देशनालयका निर्देशक कृष्णप्रसाद पोखरेलको उपस्थिति रहेको थियो। कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय सहभागिता देखिन्थ्यो।

कार्यक्रमको मुख्य आकर्षण अक्षयकोषबाट प्रदान गरिने छात्रवृत्ति थियो। विभिन्न अक्षयकोषबाट प्राप्त रकमलाई विद्यार्थीहरूलाई छात्रवृत्तिका रूपमा वितरण गरिएको विद्यालयले जनाएको छ। यसका साथै शैक्षिक तथा सह–पाठ्यक्रम गतिविधिमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार प्रदान गर्दै उनीहरूको मेहनत र प्रतिभाको सम्मान गरिएको थियो।

विद्यालयमा अक्षयकोषको सुरुवात वि.सं. २०६४ सालमा पृथ्वीबहादुर श्रेष्ठ र पवित्रा देवी श्रेष्ठको दातृत्वबाट भएको हो। प्रारम्भमा रु. १ लाख मूलधनबाट सुरु गरिएको अक्षयकोष हाल वृद्धि भई रु. १ लाख ९२ हजार पुगेको छ। समयसँगै दाताहरूको विश्वास र विद्यालयको सक्रियताका कारण हाल सजिलाल माध्यमिक विद्यालयमा ४० वटा अक्षयकोष सञ्चालनमा छन्।

विद्यालयका अनुसार अक्षयकोषमा हालसम्म जम्मा मूलधन रु. ४३ लाख ६० हजार ९८६ संकलन भएको छ भने कुल मौज्दात रु. ५५ लाख ५६ हजार पुगेको छ। यी अक्षयकोषमार्फत हालसम्म रु. २ लाख ४ हजार ५०० बराबरको छात्रवृत्ति विद्यार्थीहरूलाई वितरण गरिएको छ। दाताबाट थप प्राप्त सहयोग रु. ४३ हजार रहेको छ भने विद्यालयतर्फबाट रु. २ लाख ४७ हजार ५०० र थप रु. ७० हजार गरी कुल रु. ३ लाख १७ हजार ५०० खर्च तथा वितरण गरिएको छ।

अक्षयकोषको दीगो व्यवस्थापनका लागि समिति गठन गरी प्रत्येक वर्ष जम्मा ब्याजमध्ये ७५ प्रतिशत रकम छात्रवृत्ति वितरणमा र २५ प्रतिशत रकम मूलधनमा थप गर्ने नीति अवलम्बन गरिएको प्रधानाध्यापक श्यामबाबु काफ्लेले जानकारी दिनुभयो।

छात्रवृत्तिमार्फत आर्थिक अवस्थाका कारण पढाइमा बाधा नआओस् भन्ने उद्देश्यका साथ विद्यालयले गरेको यो प्रयासले विद्यार्थी, अभिभावक र समुदायबीच आशा र भरोसा थपेको छ। ६ दशकको शैक्षिक यात्रामा सजिलाल माध्यमिक विद्यालयले शिक्षा मात्र होइन, सामाजिक उत्तरदायित्वको उदाहरणसमेत प्रस्तुत गरिरहेको देखिन्छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार