नेसनल प्याब्सन कोशी प्रदेश र नोबेल मेडिकल कलेजबीच सहुलियत उपचार सम्झौता


Single Before Content Ad

सुन्दरहरैचा /

शिक्षा क्षेत्र समाजको मेरुदण्ड हो र त्यही मेरुदण्डलाई सबल बनाउने शिक्षक, कर्मचारी तथा विद्यालय सञ्चालकहरूको स्वास्थ्य सुरक्षाप्रति संवेदनशील बन्दै राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएसन नेपाल कोशी प्रदेश (नेसनल प्याब्सन) र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल लिमिटेडबीच सहुलियत उपचारसम्बन्धी सम्झौता सम्पन्न भएको छ। 

मिति २०८२ माघ २० गते सम्पन्न उक्त सम्झौताले कोशी प्रदेशभरका निजी विद्यालयमा कार्यरत हजारौँ शिक्षक, कर्मचारी र विद्यालय सञ्चालकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा सहज रूपमा प्राप्त हुने भरोसा दिलाएको छ।

सम्झौता अनुसार नेसनल प्याब्सन कोशी प्रदेशमा आबद्ध सदस्य विद्यालयका सञ्चालक, प्रिन्सिपल, शिक्षक तथा कर्मचारीहरूले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलमा उपचार गर्दा ओ.पि.डी. दर्ता तथा परामर्श सेवा निःशुल्क, अस्पताल सेवामा १५ प्रतिशत र दन्तरोगसम्बन्धी सेवामा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ।

सम्झौतापछि बोल्दै नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालले शिक्षा क्षेत्रका जनशक्तिको स्वास्थ्य सुरक्षालाई संस्थाको प्राथमिकतामा राखिएको बताए। कार्यवाहक अध्यक्ष खनालले भने, “शिक्षकहरू स्वस्थ नभएसम्म गुणस्तरीय शिक्षा सम्भव हुँदैन। समाज निर्माणमा लागेका शिक्षक र कर्मचारीहरूको उपचार सहज बनाउनु हाम्रो नैतिक दायित्व हो। यही सोचका साथ नोबेल मेडिकल कलेजसँग यो सम्झौता गरेका हौं।”

यस सम्झौताले शिक्षक तथा कर्मचारीका आश्रित परिवार—श्रीमान्, श्रीमती, आमा, बाबु तथा १८ वर्ष मुनिका अविवाहित छोराछोरी—लाई समेत सहुलियत उपचारको सुविधा दिने व्यवस्था गरेको छ, जसले शिक्षक परिवारप्रतिको मानवीय संवेदनालाई थप मजबुत बनाएको छ। यता अस्पताल पक्षका तर्फबाट प्रतिक्रिया दिँदै नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका महाप्रबन्धक विपेश राईले सामाजिक उत्तरदायित्व निर्वाह गर्नु संस्थाको मूल उद्देश्य भएको उल्लेख गरे।

महाप्रबन्धक राईले भने, “शिक्षा क्षेत्रका व्यक्तिहरू समाजका मार्गदर्शक हुन्। उनीहरूको स्वास्थ्य उपचारमा सहुलियत प्रदान गर्न पाउनु हाम्रो लागि गर्वको विषय हो। यस सम्झौतामार्फत नोबेल मेडिकल कलेजले गुणस्तरीय सेवा र मानवीय जिम्मेवारी दुवैलाई सँगसँगै अघि बढाएको छ।”

सम्झौतामा आईभीएफ, क्याबिन, प्लास्टिक तथा कस्मेटिक सर्जरी, साथै औषधि र चिकित्सालय सामग्री (इम्प्लान्ट, सर्जिकल तथा कन्जुमेबल सामग्री) मा छुट नलाग्ने स्पष्ट गरिएको छ। नेपाल सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा, आमा सुरक्षा कार्यक्रम तथा विपन्न नागरिक औषधि उपचार कोषलगायतका सेवा पूर्ण रूपमा उपयोग गरिसकेपछि मात्र यस सम्झौताअनुसारको सहुलियत लागू हुने जनाइएको छ।

यो सम्झौता २०८२ माघ २० गतेदेखि २०८३ असार मसान्तसम्म लागू रहनेछ। दुवै पक्षको सहमतिमा अवधि थप वा दायरा परिमार्जन गर्न सकिने व्यवस्था पनि गरिएको छ। सम्झौतापत्रमा नेसनल प्याब्सन कोशी प्रदेशका तर्फबाट कार्यवाहक अध्यक्ष कमल खनाल र नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका तर्फबाट महाप्रबन्धक विपेश राईले हस्ताक्षर गरेका छन्। साथै केन्द्रीय सदस्य नारायण प्रसाद ढकाल र जनसम्पर्क अधिकृत नविन दाहाल को पनि सहभागिता रहेको छ।

शिक्षा र स्वास्थ्य समाजका दुई आधारस्तम्भ बीचको यो सहकार्यले शिक्षक तथा कर्मचारीहरूलाई ढुक्क भएर आफ्नो जिम्मेवारीमा केन्द्रित हुन प्रेरणा दिने र कोशी प्रदेशको शैक्षिक तथा सामाजिक विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ। सहुलियत उपचार सम्बन्धी सम्झौता कार्यक्रममा नेसनल प्याब्सन कोशी प्रदेश सदस्य सुरेन्द्र चौधरी,नेसनल प्याब्सन सुनसरीका संयोजक खगेन्द्र केसी लगायत नेसनल प्याब्सनका अन्य पदाअधिकारीको उपस्थिति रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार