३० वर्षमुनिका ३० प्रभावशाली महिलामा सुन्दरहरैचाकी पूजा कोइराला छनोट


shiva
Single Before Content Ad

सुन्दरहरैचा। २७ वर्षीया पूजा कोइराला हालै ‘Wow Magazine’ द्वारा प्रकाशित “३० वर्षमुनिका विभिन्न क्षेत्रका ३० प्रभावशाली महिला” सूचीमा पर्न सफल हुनुभएको छ। करिब एक दशकदेखि सामाजिक क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी कोइरालाले महिला सशक्तीकरण र स्वास्थ्य क्षेत्रमा उल्लेखनीय योगदान दिँदै आउनुभएको छ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ निवासी कोइरालाले आफ्नो विद्यालय शिक्षा सोही क्षेत्रको निजी विद्यालय सुबिजिमुर मेमोरियलबाट पूरा गर्नुभएको हो। हाल उहाँ त्रिभुवन विश्वविद्यालयबाट सामाजिक कार्य (Master in Social Work) को चौथो सेमेस्टरमा अध्ययनरत हुनुहुन्छ।

करिब चार वर्षअघि उहाँले “कल्प एम्पावर वुमेन नेपाल” स्थापना गरी संस्थागत रूपमा महिला स्वास्थ्य र नेतृत्व विकासमा काम सुरु गर्नुभएको थियो। सुरुवाती चरणमा विशेष गरी पाठेघरको मुखमा हुने क्यान्सरविरुद्ध सचेतनामूलक अभियान तथा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै महिला स्वास्थ्य सुरक्षामा ध्यान केन्द्रित गर्नुभयो। दुर्गम तथा स्थानीय तहसम्म पुगेर करिब २० हजार महिलालाई पाठेघरसम्बन्धी रोगबारे सचेतना प्रदान गर्नुका साथै निःशुल्क स्वास्थ्य जाँच शिविरमार्फत थुप्रै आमाहरूलाई स्वास्थ्य सेवामा पहुँच दिलाउन सफल हुनुभएको छ।

यससँगै, राजनीतिमा महिलाको प्रभावकारी सहभागिता र नेतृत्व प्रवर्द्धन आवश्यक रहेको भन्दै उहाँले “She Leads Icon” अभियानमार्फत महिला जनप्रतिनिधिहरूलाई सशक्त र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने काम गर्दै आउनुभएको छ।

त्यस्तै, किशोरीहरूलाई आत्मविश्वासी र सक्षम बनाउने उद्देश्यले “She Can” परियोजना स्थानीय सरकारसँग सहकार्यमा सञ्चालन गर्दै युवतीहरूलाई नेतृत्व र अवसरतर्फ अग्रसर गराउँदै आउनुभएको छ।

समाज रूपान्तरणको यात्रामा निरन्तर सक्रिय रहँदै आफ्नै क्षेत्रमा अब्बल बन्दै जानुभएकी कोइरालाको योगदानको कदरस्वरूप उहाँ ३० वर्षमुनिका ३० प्रभावशाली महिलाको सूचीमा समावेश हुन सफल हुनुभएको हो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार