सुन्दरहरैचा/
नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशले नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरलाई नेपाली चलचित्र क्षेत्रमा दीर्घकालीन योगदान पुर्याएको भन्दै सम्मान गरेको छ।

नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशद्धारा शनिबार आयोजित सिनेमामा कोशी प्रदेश ,कोशी पर्यटन प्रवद्धनमा सिनेमा र कलाकार सम्बन्धि अन्तरक्रिया, परिचयपत्र वितरण सम्मान तथा वृहत् चलचित्रकर्मी भेलाको अवसरमा सम्मान गरेको हो।

नेपाली चलचित्रको सिर्जना, मार्गदर्शन तथा प्रेरणामार्फत चलचित्र क्षेत्रको उन्नयन र प्रतिष्ठा अभिवृद्धिमा महत्वपूर्ण भूमिका निर्वाह गरेको तथा चलचित्र क्षेत्रमा क्रियाशील कलाकार एवं चलचित्रकर्मीहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै उपचारमा विशेष सहुलियत प्रदान गरी स्वास्थ्य समन्वयमा उदाहरणीय योगदान पुर्याएको भन्दै महासंघले कलेजलाई सम्मान–पत्र प्रदान गरेको हो।
उक्त सम्मान–पत्र कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री माननीय भीम पराजुलीको हातबाट नोबेल मेडिकल कलेज टिजिङ हस्पिटलको तर्फबाट महाप्रबन्धक दिपेश राईले ग्रहण गर्नुभएको थियो। यस अवसरमा महासंघले कलेजप्रति गहिरो कृतज्ञता व्यक्त गरेको छ।
महासंघका अनुसार नोबेल मेडिकल कलेजको सामाजिक, शैक्षिक तथा सांस्कृतिक योगदानले नयाँ पुस्तालाई प्रेरणा प्रदान गर्नुका साथै चलचित्र क्षेत्र र समाजबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ। यही योगदानको उच्च कदर गर्दै सम्मान–पत्र प्रदान गरिएको महासंघले जनाएको छ।
सम्मान कार्यक्रममा विशिष्ट अतिथि वरिष्ठ नायक तथा शिवजी फाउन्डेसनका अध्यक्ष शिव श्रेष्ठको उपस्थिति रहेको थियो भने कार्यक्रमको सभापतित्व नेपाल चलचित्रकर्मी महासंघ कोशी प्रदेशका अध्यक्ष अरुण कुमार प्रधानले गर्नुभएको थियो।
