सिद्धार्थ सेकेन्डरी स्कुलद्वारा एसईईमा ४ जिपिए ल्याउने ६ जनालाई जनही एक लाख रुपैयाँ पुरस्कार


Single Before Content Ad

शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैँचा–१० खोर्साने स्थित सिद्धार्थ सेकेन्डरी स्कुलले शैक्षिक सत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा (एसईई) मा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरूलाई अभिभावकसहित सम्मान, बधाई तथा पुरस्कार वितरण गरिएको छ।

विद्यालयले यस वर्ष एसईई परीक्षामा सहभागी सबै १२१ जना विद्यार्थीलाई शतप्रतिशत सफल गराउँदै उल्लेखनीय उपलब्धि हासिल गरेको हो। तीमध्ये ६ जना विद्यार्थीले उत्कृष्ट जिपिए ४.० प्राप्त गरेका छन्। जिपिए ४ ल्याउने प्रत्येक विद्यार्थीलाई जनही रु. १ लाखका दरले चेक प्रदान गरिएको विद्यालयले जनाएको छ।

त्यसैगरी, बाँकी सबै विद्यार्थीहरूले पनि न्यूनतम जिपिए ३ भन्दा माथिको नतिजा हासिल गरेका छन्। विद्यार्थीहरूको मेहनत, अभिभावकहरूको समर्पण र शिक्षकहरूको निरन्तर मार्गदर्शनका कारण यस्तो सफलता सम्भव भएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालयका प्रिन्सिपल अर्जुन बस्नेतले विद्यार्थी तथा अभिभावकलाई बधाई दिँदै भन्नुभयो, “दुःख गरेर पढेका र अभिभावकले मेहनतका साथ पढाएका नानीहरूको यो सफलतामा हामी अत्यन्त खुशी छौँ। असल शिक्षाले मानवको जीवन बदल्छ। यी सबै नानीहरूको उज्ज्वल भविष्यको हार्दिक शुभकामना व्यक्त गर्दछु।”

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका मेयर केदार प्रसाद गुरागाईले यस स्कुलले निरन्तर रूपमा गुणस्तरीय शिक्षा प्रदान गर्दै नगरकै शैक्षिक क्षेत्रलाई नयाँ उचाइमा पुर्‍याएको बताउनुभयो। उहाँले भन्नुभयो, “सिद्धार्थ सेकेन्डरी स्कुलले उत्कृष्ट शैक्षिक नतिजामार्फत सुन्दरहरैँचा नगरपालिकाको शैक्षिक प्रतिष्ठा बढाएको छ। १२१ जना विद्यार्थीलाई शतप्रतिशत सफल गराउनु र ६ जना विद्यार्थीले जिपिए ४.० ल्याउनु आफैंमा गौरवको विषय हो। विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थी सबै बधाईका पात्र हुनुहुन्छ। आगामी दिनमा पनि यस विद्यालयले अझ उत्कृष्ट नतिजासहित समाजलाई सक्षम र जिम्मेवार नागरिक प्रदान गर्ने विश्वास लिएको छु।”

कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय परिवारको उत्साहजनक सहभागिता रहेको थियो। विद्यालयले आगामी दिनमा पनि गुणस्तरीय शिक्षामार्फत उत्कृष्ट नतिजालाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार