सुन्दरहरैंचा – सुन्दरहरैंचा नगरपालिका वडा -८ सलकपुरमा रहेको ब्राइट फ्युचर सेकण्डरी स्कूलकी छात्राहरूको भलिबल टोलीले कोशी प्रदेश PABSON प्रेसिडेन्ट कप रनिङ शिल्ड भलिबल प्रतियोगिता २०८२ मा उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको छ। टोलीले संयम, समर्पण र उत्कृष्ट खेल कौशल प्रदर्शन गर्दै प्रतिस्पर्धीहरूलाई पछि पार्दै उपाधि हात पारेको हो।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई पनि सम्मान गरिएको छ। सर्वोत्तम लिबेरोमा सुस्मा खतरी, सर्वोत्तम सेटरमा प्रेजिना दाहाल, सर्वोत्तम ब्लकरमा रितिका श्रेष्ठ र प्रतियोगिताको उत्कृष्ट खेलाडीमा कृष्मा दांगीलाई चयन गरिएको छ।
कार्यक्रमको अवसरमा विद्यालयका संस्थापक तथा प्रिन्सिपल टिकाराम ढकालले भने, “हाम्रो छात्राहरूको यो सफलता उनीहरूको समर्पण, मेहनत र टोलीभावको प्रतिफल हो। यसले उनीहरूको खेल जीवन मात्र नभई शैक्षिक जीवनमा पनि भविष्य उज्यालो हुने संकेत गर्छ।”
विद्यालय प्रशासन, प्रशिक्षक र शुभचिन्तकहरूले छात्राहरूको जोश र समर्पणको प्रशंसा गर्दै भविष्यमा अझ ठूलो सफलता प्राप्त गर्ने शुभकामना व्यक्त गरेका छन्।
