सुन्दरहरैँचामा यू–१५ फुटबल : महेन्द्र माविको विजयी सुरुवात


shiva
Single Before Content Ad

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैँचा नगरपालिका–१२ मा शुक्रबारे युवा क्लबको आयोजनामा शुक्रबारदेखि सुरु भएको तेस्रो वडा अध्यक्ष कप यू–१५ फुटबल प्रतियोगिताको उद्घाटन खेलमा महेन्द्र माध्यमिक विद्यालयले विजयी सुरुवात गरेको छ।

प्रतिस्पर्धात्मक खेलमा महेन्द्र माविले सिद्धार्थ माध्यमिक विद्यालय, खोर्सानेलाई २–१ गोल अन्तरले पराजित गरेको हो। खेल सुरु भएको तेस्रो मिनेटमै महेन्द्र माविका जर्सी नम्बर १० का जोसेफ तामाङले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। मध्यान्तरपछि सिद्धार्थ माविका जर्सी नम्बर १० का निपेश तामाङले गोल फर्काउँदै खेललाई बराबरीमा ल्याए। तर, खेल सकिन तीन मिनेट बाँकी रहँदा महेन्द्र माविका जर्सी नम्बर ९ का पदम विकले निर्णायक गोल गर्दै टोलीलाई जित दिलाए।

खेलमा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो गोल गरेका महेन्द्र माविका जोसेफ तामाङ म्यान अफ द म्याच घोषित भए। उनले नगद ५०० रुपैयाँ पुरस्कार प्राप्त गरे। ‘बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी’ भन्ने मूल नाराका साथ मङ्सिर ११ देखि १९ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले गर्नुभएको थियो।

उद्घाटन कार्यक्रममा नगरप्रमुख गुरागाईंले खेलकुदले विद्यार्थीलाई कुलतबाट टाढा राख्दै अनुशासित, स्वस्थ र सक्षम बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। कार्यक्रममा वडा नम्बर १२ का अध्यक्ष रोशनप्रसाद ढकाल, नगर खेलकुद विकास समितिका सदस्य सचिव खड्ग श्रेष्ठ, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, शिक्षक, विद्यालयका प्रधानाध्यापक तथा प्रिन्सिपल, जनप्रतिनिधिलगायतको उपस्थिति थियो। क्लबका अध्यक्ष जयनारायण चौधरीकाे सभापतित्वमा सम्पन्न भएकाे थियाे । खेल संयोजक टीकाप्रसाद सुवेदीका अनुसार भाेलि शनिबारकाे खेल क्वेष्ट स्कुल भर्सेस लभ्ली एन्जल्स र जनता मावि भर्सेस हरैचामाेडल बिच हुने छ ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार