मोरङ — शिव भट्टराई भोजपुरे
सामाजिक कार्यमा सक्रिय सहभागिता जनाउने उद्देश्यले मोरङ जिल्लामा "स्वतन्त्र नागरिक समाज मोरङ" संस्था औपचारिक रूपमा गठन गरिएको छ।आज पानस पार्टी प्यालेसमा आयोजित एक विशेष समारोहका बीच ज्येष्ठ नागरिक समाज सुन्दरहरैंचाका अध्यक्ष रामकुमार कार्कीको प्रमुख आतिथ्यतामा संस्थाको घोषणा गरिएको हो।

संस्थाको अध्यक्षमा सुन्दरहरैंचा–३ निवासी नेत्र चौलागाईं चयन भएका छन्। उपाध्यक्षमा मोहन प्रसाद ढकाल, सचिवमा नवीन दाहाल, कोषाध्यक्षमा निर्मला बजगाई, सह-सचिवमा लिला बिष्ट तथा सदस्यहरूमा नरबहादुर गुरुङ, मान बहादुर श्रेष्ठ, अर्जुन भुजेल, तारा श्रेष्ठ, दिपक रिजाल, विष्णु पोख्रेल लगायत रहेका छन्।

कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरू, सुन्दरहरैंचाका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

अध्यक्ष नेत्र चौलागाईंले समाजको उद्देश्य प्रष्ट पार्दै राजनीतिक पक्षधरता भन्दा माथि उठेर समाजको समुन्नतिका लागि स्वतन्त्र सोच र सेवा भावका साथ काम गर्ने यस संस्थाको मुख्य उद्देश्य रहेको बताए। त्यसैगरी यस संस्था नागरिकका लागि आवाज बन्ने र सामाजिक न्यायको पक्षमा दृढ भएर उभिने बताएका छन्।
उनले कार्यक्रममा संस्थाका भावी योजनाहरुबारे पनि जानकारी दिइएको, जसमा युवाहरुलाई नेतृत्व विकास, सामाजिक सेवा, शिक्षा र स्वास्थ्यमा सहयोग लगायतका अभियान संचालन गरिने उल्लेख गरिएको थियो।

