पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित दुई तले १६ कोठे भवन उद्घाटन


shiva
Single Before Content Ad

विराटचोक । शिव भट्टराई भोजपुरे । असोज २१ गते

मोरङको सुन्दरहरैँचा–७, गोठगाउँ स्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नवनिर्मित दुई तले १६ कोठे भवनको मंगलबार उद्घाटन गरिएको छ। नेपाल–भारत विकास सहकार्यअन्तर्गत भारतीय राजदूतावासको ८० प्रतिशत र सुन्दरहरैँचा नगरपालिकाको २० प्रतिशत साझेदारीमा निर्माण भएको भवनको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, भारतीय राजदूतावास काठमाडौंका प्रथम सचिव नारायण सिंह र सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईंले संयुक्त रूपमा गरेका हुन्।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीका अनुसार भवन निर्माणमा कुल ३ करोड २८ लाख रुपैयाँ लागत लागेको छ। निर्धारित समयसीमाभित्र सम्झौताअनुसार गुणस्तरीय रूपमा भवन निर्माण सम्पन्न गरिएको उनले बताए। निर्माण सम्पन्न भएको भवनमा १३ महिनासम्म कुनै समस्या देखिएमा निर्माण व्यवसायीले मर्मत गर्नुपर्ने व्यवस्था रहेको समेत उनले जानकारी दिए।

कक्षा १ देखि १२ सम्म सञ्चालन हुँदै आएको विद्यालयमा हाल करिब ८ सय विद्यार्थी अध्ययनरत छन्। नयाँ भवन निर्माणसँगै विद्यार्थीका लागि सुरक्षित, व्यवस्थित र सहज पठनपाठनको वातावरण तयार भएको विद्यालयले जनाएको छ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले भौतिक पूर्वाधार निर्माणसँगै विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै सक्षम र असल नागरिक उत्पादनमा ध्यान दिनुपर्ने बताए। उनले अंग्रेजी माध्यमको शिक्षालाई थप प्रभावकारी बनाउँदै विद्यार्थीलाई अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्ने बनाउनु आवश्यक रहेको उल्लेख गरे।

‘भवनको भौतिक संरचना पूरा भयो, अब विद्यालयले सबै हिसाबले योग्य र असल नागरिक निर्माण गर्नुपर्छ,’ मुख्यमन्त्री कार्कीले भने। विद्यालयको मुख्य जिम्मेवारी नै असल नागरिक निर्माण गर्नु भएकाले यसमा कुनै किसिमको कमजोरी गर्न नहुने उनको भनाइ थियो।

मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले हिमाली तथा पहाडी क्षेत्रमा ३० वटा विद्यालय निर्माण गर्ने योजना अघि बढाएको जानकारी दिए। करिब ३० करोड रुपैयाँ लगानीमा निर्माण हुने ती विद्यालयमा छात्रावाससहितका सुविधा विकास गर्ने योजना रहेको उनले बताए। विद्यालय शिक्षाको विकासका लागि विगतको तुलनामा अझ बढी लगानी आवश्यक रहेको उल्लेख गर्दै उनले अभिभावक शिक्षा तथा तालिम कार्यक्रमसमेत सञ्चालन गरिने जानकारी दिए।

नगरप्रमुख केदारप्रसाद गुरागाईंले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि योग्य र सक्षम नेतृत्व आवश्यक रहेको बताए। उनले पञ्चायत माध्यमिक विद्यालयको प्रधानाध्यापक नियुक्तिका लागि नगरपालिका विधि र प्रक्रियाअनुसार अघि बढिरहेको जानकारी दिए।

प्रधानाध्यापक छनोटका लागि सूचना प्रकाशित भइसकेकाले योग्यता पुगेका व्यक्तिले आवेदन दिन सक्ने र निष्पक्ष रूपमा छनोट गरिने नगरप्रमुख गुरागाईंले बताए। ‘योग्यता र क्षमताका आधारमा योग्य व्यक्तिलाई जिम्मेवारी दिइनेछ,’ उनले भने, ‘प्रधानाध्यापक छनोटमा कुनै किसिमको सोर्सफोर्सले काम गर्दैन।’

नगरप्रमुख गुरागाईंले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकको भूमिका महत्वपूर्ण हुने बताए। अभिभावकले आफ्ना बालबालिकाको पढाइसँगै विद्यालयमा दैनिक भइरहेका गतिविधिबारे समेत चासो राख्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाकी उपप्रमुख अकली चौधरीले नवनिर्मित भवन तथा त्यसको निर्माण प्रक्रियाबारे जानकारी गराएकी थिइन्। उनले नयाँ भवनले विद्यालयको भौतिक पूर्वाधारमा महत्वपूर्ण सुधार ल्याउनुका साथै विद्यार्थीको पठनपाठनमा सहजता थप्ने बताइन्।

नेपाल–भारत विकास सहकार्यअन्तर्गत निर्माण सम्पन्न भएको यस भवनले विद्यालयको भौतिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याएको छ। भारतीय दूतावासले यसअघि पनि एचआइसीडीपीमार्फत पञ्चायत माध्यमिक विद्यालयलाई एउटा बस सहयोग गरेको थियो।

नेपाल–भारत सहकार्यअन्तर्गत शिक्षा, स्वास्थ्य तथा जलवायु क्षेत्रलगायत विभिन्न क्षेत्रमा हुँदै आएको सहयोगले दुई देशबीचको सम्बन्धलाई थप मजबुत बनाउँदै आएको कार्यक्रममा वक्ताहरूले बताएका थिए।

कार्यक्रममा भारतीय राजदूतावासका प्रतिनिधि, कोशी प्रदेश सरकार तथा स्थानीय तहका जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक, विद्यार्थी तथा स्थानीयवासीको सहभागिता रहेको थियो।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार