शिव भट्टराई भोजपुरे/मोरङको सुन्दरहरैचा गोठगाउँ स्थित पूर्वाञ्चल विश्वविद्यालयले आफ्नो १४औँ दीक्षान्त समारोह भव्य तथा गरिमामय रूपमा सम्पन्न गरेको छ। मोरङको गोठगाउँस्थित केन्द्रीय कार्यालयमा मंगलबार आयोजित समारोहमा कुल ६ हजार ७ सय ६ जना विद्यार्थी दीक्षित भएका छन्। दीक्षान्त समारोहको अवसरमा आजै पुर्वान्चल विश्वबिद्यालयको ४२औं विशेष सभा बैठक सम्पन्न गरिएको थियो।

समारोह सहकुलपति तथा शिक्षामन्त्री सस्मित पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। दीक्षान्त समारोह केवल प्रमाणपत्र वितरणको औपचारिक कार्यक्रम मात्र नभई विश्वविद्यालयको शैक्षिक यात्रा, उपलब्धि र भावी दिशालाई प्रतिविम्बित गर्ने महत्वपूर्ण अवसरका रूपमा स्थापित हुँदै आएको छ।

यस वर्षको समारोहमा स्नातक, स्नातकोत्तर तथा एमफिल तहका विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। विश्वविद्यालयका अनुसार स्नातक तहबाट ५ हजार २ सय ८८, स्नातकोत्तर तहबाट १ हजार ४ सय १३ तथा एमफिल तहबाट ५ जना विद्यार्थी दीक्षित भएका छन्।

संकायगत रूपमा व्यवस्थापन संकायबाट सबैभन्दा धेरै २ हजार २ सय ६४ विद्यार्थी दीक्षित भएका छन् भने इन्जिनियरिङतर्फ १ हजार २ सय ६२, विज्ञान तथा प्रविधितर्फ ७ सय ४७, चिकित्सा तथा सहायक स्वास्थ्य विज्ञानतर्फ ६ सय २४ र कानुन संकायतर्फ ६ सय २२ जना विद्यार्थी दीक्षित भएका छन्। त्यसैगरी शिक्षा संकायबाट ९ सय ९८ र मानविकी संकायबाट १ सय ८४ विद्यार्थीले दीक्षान्त प्राप्त गरेका छन्।
समारोहलाई सम्बोधन गर्दै सहकुलपति पोखरेलले विश्व परिवेशमा तीव्र रूपमा भइरहेको परिवर्तनसँगै शिक्षा प्रणालीलाई प्रविधिमैत्री, व्यवहारिक र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिनुभयो। उहाँले दीक्षित विद्यार्थीहरूलाई आफ्नो ज्ञान र सीप राष्ट्र निर्माणमा प्रयोग गर्न आग्रह गर्दै उच्च शिक्षालाई गुणस्तरीय र रोजगार मुखी बनाउनेतर्फ सरकार प्रतिबद्ध रहेको धारणा व्यक्त गर्नुभयो।उहाँले विश्वविद्यालयलाई दलीय राजनीतिबाट मुक्त राख्दै शैक्षिक उत्कृष्टता, अनुसन्धान र नवप्रवर्तनमा केन्द्रित वातावरण निर्माण गर्नुपर्नेमा जोड दिनु भएको थियो।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा Postgraduate Institute of Medical Education and Research (PGIMER) का निर्देशक विवेक लाल को उपस्थिति रहेको थियो। उहाँले अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा विश्वविद्यालयहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयो।
समारोहका क्रममा विभिन्न संकायका उत्कृष्ट विद्यार्थीहरूलाई पदक तथा प्रमाणपत्र प्रदान गरिएको थियो। वि.सं. २०५० सालमा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयले करिब तीन दशकको यात्रामा व्यवस्थापन, विज्ञान तथा प्रविधि, इन्जिनियरिङ, मानविकी, कानुन तथा चिकित्सा शिक्षा लगायतका क्षेत्रमा अध्यापन गर्दै आएको छ। हाल १५० भन्दा बढी आंगिक तथा सम्बन्धन प्राप्त कलेज मार्फत विश्वविद्यालयले दक्ष जनशक्ति उत्पादन गरिरहेको छ भने एम.फिल र पीएचडी जस्ता अनुसन्धानमुखी कार्यक्रमहरू सञ्चालन भइरहेका छन्।
समारोहका अवसरमा उपकुलपति डा बिजु कुमार थपलिया, चिकित्सा शास्त्र संकायका डिन शैलेशमणी पोख्रेल, रजिस्ट्रार डा. कल्याणी मिश्र त्रिपाठी तथा व्यवस्थापन संकायका डिन सन्देशदास श्रेष्ठ लगायतले दीक्षित विद्यार्थीहरूलाई बधाई दिँदै आगामी दिनमा आफ्नो ज्ञान, सीप र क्षमतालाई समाज र राष्ट्रको सेवामा समर्पित गर्न आग्रह गर्नुभएको थियो।
उहाँहरूले दीक्षान्त केवल शैक्षिक उपलब्धिको अन्तिम बिन्दु नभई जीवनको नयाँ सुरुवात भएको उल्लेख गर्दै, प्रतिस्पर्धात्मक विश्वमा आफूलाई सक्षम, नैतिक र जिम्मेवार नागरिकका रूपमा स्थापित गर्न प्रेरित गर्नुभएको छ।
दीक्षित विद्यार्थीहरूका लागि यो क्षण केवल शैक्षिक उपलब्धिमा सीमित नभई जीवनको नयाँ चरणतर्फ प्रवेश गर्ने महत्वपूर्ण मोडका रूपमा लिइएको छ। विश्वविद्यालयबाट उत्पादित जनशक्तिले देशभित्र तथा विदेशमा विभिन्न क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै राष्ट्रिय विकासमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
यसपालिको दीक्षान्त समारोहमा शिक्षामन्त्री सस्मित पोखरेल को आगमन हुँदा विगतका वर्षहरूजस्तो विशेष तामझाम र कडा सुरक्षा व्यवस्था भने देखिएको थिएन।सामान्य र सहज ढंगले सम्पन्न भएको यस कार्यक्रमले औपचारिकता भन्दा पनि शैक्षिक उपलब्धि र विद्यार्थीहरूको उपलब्धिलाई केन्द्रमा राखेको अनुभव गरिएको सहभागीहरूले बताएका छन्।

