सुन्दरहरैँचा। सुन्दरहरैँचा नगरपालिका अन्तरर्गत रहेका विद्यालयमा अध्ययनरत छात्रा तथा विद्यालय बाहिर रहेका किशोरीहरुलाई लक्षित गर्दै पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पि.भी. (HPV) खोप कार्यक्रम सञ्चालन गरिने भएको छ।
नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार कक्षा ६ मा अध्ययनरत छात्रा तथा अघिल्लो शैक्षिक वर्षमा खोप लगाउन छुट भएका कक्षा ७ देखि १० सम्म अध्ययनरत छात्राहरु साथै विद्यालय नजाने ११ वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरुलाई खोप प्रदान गरिनेछ।
यो खोप कार्यक्रम यही मिति २०८२ माघ २९ गतेदेखि फागुन ४ गतेसम्म सञ्चालन हुनेछ। लक्षित समूहका किशोरीहरुले आफ्नो वडामा तोकिएको पायक पर्ने खोप केन्द्रमा निर्धारण गरिएको मिति र समयमा उपस्थित भई खोप लगाउन स्वास्थ्य शाखाले आग्रह गरेको छ।
स्वास्थ्य शाखाले एच.पि.भी. संक्रमणबाट हुने पाठेघरको मुखको क्यान्सरबाट बच्न समयमै खोप लगाउनु अत्यन्त प्रभावकारी र सुरक्षित उपाय भएकाले अभिभावक तथा विद्यालयलाई समेत सक्रिय सहयोग गर्न अनुरोध गरेको जनाएको छ।
