सुन्दरहरैचा । शिव भट्टराई भोजपुरे । असोज १७ गते
मोरङको सुन्दरहरैँचा–१२, विराटचोकस्थित सुकुना बहुमुखी क्याम्पसको २०औँ क्याम्पस सभा (सिनेट) बैठक सम्पन्न भएको छ। क्याम्पस सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षतामा सम्पन्न बैठकले क्याम्पसको प्रगति, नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट पारित गरेको छ।
सिनेट बैठकको पहिलो चरणअन्तर्गत आयोजित छात्रवृत्ति वितरण कार्यक्रममा १३८ जना जेहेन्दार विद्यार्थीलाई कुल ८ लाख ६१ हजार रुपैयाँ छात्रवृत्ति वितरण गरिएको थियो। अक्षय कोषको ब्याज, विभिन्न दाता, संघ–संस्था तथा वित्तीय संस्थाबाट प्राप्त सहयोग र क्याम्पस कोषबाट उक्त रकम जुटाइएको क्याम्पसले जनाएको छ।

चालु आर्थिक वर्षमा भने कुल ५६ लाख ९९ हजार ५ सय रुपैयाँ छात्रवृत्ति वितरण गर्ने योजना रहेको सहायक क्याम्पस प्रमुख बलराम पोखरेलले जानकारी दिए। छात्रवृत्ति वितरण कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष थापा र क्याम्पस प्रमुख अर्जुनराज अधिकारीले क्याम्पसको छात्रवृत्ति योजनाबारे जानकारी गराउनु भएको थियो।

त्यसपछि भएको उद्घाटन सत्रमा क्याम्पस प्रमुख अधिकारीले क्याम्पसको प्रगति प्रतिवेदन, नीति तथा कार्यक्रम तथा आर्थिक वर्ष २०८३/०८४ का लागि २५ करोड ८५ लाख ३६ हजार ३ सय ४० रुपैयाँको बजेट प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा विश्वविद्यालय अनुदान आयोग नेपालका अध्यक्ष प्रा. डा. खड्गबहादुर केसी प्रमुख अतिथिका रूपमा सहभागी थिए। जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँ, जनभावना क्याम्पस ललितपुरका क्याम्पस प्रमुख तथा पब्लिक क्याम्पस संघका निवर्तमान केन्द्रीय अध्यक्ष शिवराज सञ्जेललगायत विभिन्न क्याम्पसका प्रमुख तथा प्रतिनिधिको उपस्थिति थियो।
सो अवसरमा विश्वविद्यालय अनुदान आयोगको अनुदानमा निर्मित १४ कोठे भवनको उद्घाटन समेत गरिएको थियो। भवन उद्घाटन गर्दै प्रमुख अतिथि प्रा. डा. केसीले विश्वविद्यालय अनुदान आयोगले सामुदायिक क्याम्पसलाई आर्थिक, भौतिक, व्यवस्थापकीय तथा अनुसन्धानका क्षेत्रमा सहयोग गर्दै आएको बताए। उनले सुकुना क्याम्पसको कार्यसम्पादनप्रति आफू सन्तुष्ट रहेको धारणा व्यक्त गर्नुभयो।
सिनेट बैठकका अवसरमा क्याम्पस सञ्चालक समितिका पूर्वअध्यक्ष देवेन्द्रकुमार मास्के, पूर्वउपाध्यक्ष उद्धवप्रसाद रिजाल, पूर्वक्याम्पस प्रमुख पीतकुमार श्रेष्ठ, पूर्वविद्यार्थी डा. नेत्रबहादुर कार्की तथा सामुदायिक क्याम्पसहरूमा उत्कृष्ट नतिजा हासिल गर्ने बीएड विज्ञानकी छात्रा जिवीका सापकोटालाई सम्मान गरिएको थियो।
कार्यक्रममा स्ववियु अध्यक्ष एलिस ओझा, दमक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख यज्ञराज गिरी, सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायव महानिरीक्षक (डीआईजी) डा. नेत्रबहादुर कार्की तथा जनभावना क्याम्पसका क्याम्पस प्रमुख शिवराज सञ्जेलले सिनेट बैठकको सफलताको शुभकामना व्यक्त गरेका थिए।
बैठकको बन्दसत्रमा क्याम्पसको प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिको प्रतिवेदन, नीति तथा कार्यक्रम र आर्थिक वर्ष २०८३/०८४ को २५ करोड ८५ लाख ३६ हजार ३ सय ४० रुपैयाँको बजेट पारित गरिएको छ। कार्यक्रमका विभिन्न चरणको सञ्चालन सहायक क्याम्पस प्रमुख गणेशप्रसाद दाहालले गर्नु भएको थियो।




