सुन्दरहरैँचा –शिव भट्टराई भोजपुरे
मोरङको सुन्दरहरैँचा नगरपालिका–६ स्थित श्री ज्योति माध्यमिक विद्यालयको ६२औँ वार्षिक उत्सव तथा अभिभावक दिवस बिहीवार भव्यताका साथ सम्पन्न भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदार प्रसाद गुरागाईंको प्रमुख आतिथ्य रहेको थियो भने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अरुण सुवेदीको सभापतित्व रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गुरागाईंले विद्यालयको शैक्षिक गुणस्तर र अनुशासन प्रशंसनीय रहेको बताउँदै उक्त विद्यालयलाई अझ प्रतिस्पर्धी र प्रविधिमैत्री बनाउनु
पर्नेमा जोड दिएका छन्। उनले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै विद्यार्थी संख्या वृद्धि गर्न विद्यालय प्रशासनलाई आग्रह गरेका छन्।

विद्यार्थी संख्या बढेमा नगरपालिकाको तर्फबाट विद्यालय बसको व्यवस्था गरिदिने प्रतिबद्धता व्यक्त गर्दै उनले विद्यार्थीहरूको सुविधा र पहुँच विस्तारमा स्थानीय सरकार सधैं साथ रहने बताएका छन्। उहाँले विद्यार्थीमा अनुशासन, पहिचान र सांस्कृतिक चेतना अभिवृद्धि गर्न हप्ताको एक दिन सांस्कृतिक पोशाकमा विद्यालय आउने व्यवस्था लागू गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक राजकुमार शाहले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक, अतिरिक्त क्रियाकलाप तथा भौतिक पूर्वाधार विकासका उपलब्धिहरू सार्वजनिक गरेका थिए।
विद्यालयका शिक्षक सुदर्शन काफ्लेले संचालन गरेको कार्यक्रममा विद्यार्थीहरूले विविध सांस्कृतिक प्रस्तुति, नृत्य, गीत तथा जनचेतनामूलक नाटक प्रस्तुत गरी कार्यक्रमलाई आकर्षक र जीवन्त बनाएका थिए।
त्यसैगरी विद्यालयले शिक्षक ईश्वर कुमार श्रेष्ठ तथा विभिन्न दाता परिवारलाई सम्मान गरेको थियो। त्यस्तै विभिन्न अक्षयकोष दाताहरूको सहयोगमा उत्कृष्ट विद्यार्थीहरूलाई छात्रवृत्ति समेत वितरण गरेको छ।
कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, स्थानीय बुद्धिजीवी तथा छिमेकी विद्यालयका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
