शिव भट्टराई भोजपुरे/ फागुन ६ गते
सुन्दरहरैचा/ मोरङको सुन्दरहरैँचा नगरपालिकाद्वारा आयोजित प्रथम सुन्दरहरैँचा शैक्षिक महोत्सव २०८२ सफलतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त महोत्सव तीन दिनसम्म सञ्चालन भएको थियो।
सोमबार देखि सुरु भएको महोत्सवको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्नुभएको थियो। उद्घाटनपछि उहाँले विभिन्न स्टल तथा प्रदर्शनी अवलोकन गर्दै विद्यार्थीहरूले तयार पारेका विज्ञान, प्रविधि, सिर्जनात्मक तथा व्यवहारिक परियोजनाहरूको निरीक्षण गर्नुभयो। अवलोकनका क्रममा उहाँले सुन्दरहरैचा अपडेट सङ्ग कुरा गर्दै सुन्दरहरैँचाको प्रदर्शनी कोशी प्रदेशकै उत्कृष्ट र अत्यन्त ‘इनोभेटिभ’ लागेको बताउँदै विद्यार्थीहरूको सिर्जनशीलता र प्रयोगात्मक सिकाइको खुलेर प्रशंसा गर्नुभएको थियो।

बुधबार सम्पन्न भएको शैक्षिक महोत्सवमा नगर उपप्रमुख अकली चौधरीले स्वागत मन्तव्य राख्नु भएको थियो।उहाँले महोत्सवले विद्यार्थीको बौद्धिक, सिर्जनात्मक तथा व्यवहारिक सीप विकासमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो। कार्यक्रमको सञ्चालन महेन्द्र माध्यमिक विद्यालयका प्रधानाध्यापक लोकबन्धु थापाले गर्नुभएको थियो।

समापन कार्यक्रममा सहभागी विद्यालयका प्रतिनिधिहरूलाई सहभागिताको प्रमाणपत्र समेत वितरण गरिएको थियो।
महोत्सवको अवसरमा नगर शिक्षा योजना निर्माण कार्यशाला, छलफल तथा गोष्ठी आयोजना गरिएको थियो। साथै विभिन्न विद्यालयका विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा अन्य सांस्कृतिक तथा प्रतिभामूलक प्रस्तुति दिएका थिए, जसले कार्यक्रममा थप आकर्षण थपेको थियो।

महोत्सवमा नगरभित्रका ८७ विद्यालयका करिब ३६ हजार विद्यार्थी सहभागी भएका थिए भने अभिभावक, स्थानीयवासी तथा अन्तरपालिकाबाट समेत गरी करिब १ लाख भन्दा बढिले अवलोकन गरेको आयोजकले जनाएको छ। प्रदर्शनी प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुका ५ बजेसम्म सञ्चालन गरिएको थियो।

मूल समारोह समितिका संयोजक तथा नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यार्थीको प्रतिभा प्रस्फुटन गराई व्यवहारिक ज्ञान हासिल गराउने उद्देश्यले पहिलो पटक यस्तो महोत्सव आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार यस कार्यक्रमले विद्यार्थीमा आत्मविश्वास, प्रस्तुति क्षमता तथा सिर्जनशीलताको विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

महोत्सव विराटचोक औद्योगिक प्रदर्शनी केन्द्र मा आयोजना गरिएको थियो। यहाँ भाषा तथा साहित्य, गणित तथा तर्क शक्ति, विज्ञान तथा प्रविधि, सामाजिक अध्ययन तथा नागरिक शिक्षा, वातावरण, स्वास्थ्य तथा पोषण, प्रारम्भिक बाल विकास (ECD), उद्यम, कला, व्यवस्थापन तथा व्यावसायिक सीपसम्बन्धी विविध विषयगत प्रदर्शनीहरू राखिएका थिए। साथै दोस्रो दिन सफल व्यक्तिहरूसँग प्यानल छलफल तथा विद्यार्थीका जातीय–सांस्कृतिक झाँकी प्रदर्शन समेत गरिएको थियो। महोत्सवले शिक्षा, सीप र सिर्जनशीलतालाई एकै थलोमा जोड्दै विद्यार्थीको सर्वाङ्गीण विकासमा नयाँ आयाम थपेको आयोजकको विश्वास रहेको छ।
