सुन्दरहरैंचा, शिव भट्टराई भोजपुरे/
मोरङको सुन्दरहरैंचा–१० मा अवस्थित हिमालय इङ्ग्लिस स्कुलले आफ्नो १० औँ वार्षिक उत्सव तथा अभिभावक दिवस उल्लासपूर्ण वातावरणमा सम्पन्न गरेको छ। विद्यालय परिसर रंगीन सजावट, सांस्कृतिक धुन, विद्यार्थीहरूको उत्साह र अभिभावकहरूको उल्लेखनीय सहभागिताले दिनभरि नै उत्सवमय बनेको थियो।

यस वर्षको वार्षिकोत्सवमा सांस्कृतिक कार्यक्रम, प्रतिभा प्रदर्शन, पुरस्कार वितरण र आइडल प्रतिस्पर्धा जस्ता विविध गतिविधि भए पनि सबैभन्दा बढी चर्चा र आकर्षणको केन्द्र बनेको थियो — “ओमेगा जम्प” प्रदर्शनी। सुन्दरहरैंचामा पहिलोपटक विद्यालयस्तरमै आयोजना गरिएको उक्त साहसिक प्रस्तुति कार्यक्रमको मुख्य हाइलाइटका रूपमा उभिएको थियो।

विशेष सुरक्षा मापदण्ड र प्राविधिक व्यवस्था सहित गरिएको “ओमेगा जम्प” मा सहभागी बालबालिका,अभिभावक तथा अतिथिहरूले उच्च उत्साह, साहस र आत्मविश्वास प्रदर्शन गरेका थिए। दर्शकदीर्घाबाट उठेका ताली र उत्साहजनक नाराले कार्यक्रम स्थल गुञ्जायमान बनेको थियो। विद्यार्थीहरूको सन्तुलन, अनुशासन र निर्भीक प्रस्तुति देखेर अभिभावकहरू गर्वित देखिन्थे।

विद्यालय प्रशासनका अनुसार “ओमेगा जम्प” को आयोजना केवल मनोरञ्जनका लागि मात्र नभई विद्यार्थीहरूमा साहसिक भावना, जोखिम व्यवस्थापन सम्बन्धी चेतना र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले गरिएको हो। आधुनिक शिक्षासँगै अतिरिक्त क्रियाकलाप मार्फत समग्र व्यक्तित्व विकासमा जोड दिने विद्यालयको अवधारणालाई यस कार्यक्रमले थप मजबुत बनाएको आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले नृत्य, गीत, नाटक तथा विविध रचनात्मक प्रस्तुति प्रस्तुत गर्दै अभिभावक र अतिथिहरूलाई मन्त्रमुग्ध बनाएका थिए। त्यसैगरी कार्यक्रममा स्थानिय कलाकार दिलिप लिम्बुले प्रस्तुती दिएका थिए। डान्स आइडल र सिङ्गिङ आइडलको फाइनल प्रतिस्पर्धाले हललाई थप रोमाञ्चक बनाएको थियो। विजेता तथा उपविजेता विद्यार्थीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो भने अभिभावकहरूबीच समेत डान्स प्रतियोगिता आयोजना गरी कार्यक्रमलाई पारिवारिक र आत्मीय बनाइएको थियो।

त्यसैगरी, समाजमा पत्रकारिताको माध्यमबाट विद्यालयका गतिविधि र शैक्षिक सन्देश व्यापक रूपमा पुर्याएको योगदानको कदर गर्दै पत्रकार शिव भट्टराई भोजपुरे, एलेएन गच्छदार, योगेन्द्र योगी, मणिराम दाहाल र राष्ट्रप्रेमी राज पोखरेललाई सम्मान गरिएको थियो। विद्यालय प्रशासनले पत्रकारहरूको सक्रियता र सकारात्मक भूमिकाले शैक्षिक गतिविधिलाई समाजसम्म पुर्याउन महत्वपूर्ण सहयोग पुगेको उल्लेख गरेको थियो।
विद्यालयका प्रिन्सिपल कमल खनालले दशक लामो यात्रालाई संघर्ष, समर्पण र विश्वासको उपलब्धि भएको बताउँदै आगामी दिनमा विद्यालयलाई अझ प्रविधिमैत्री, नवप्रवर्तनशील र गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैचा नगरपालिकाका नगर प्रवक्ता रोशन प्रसाद ढकालले विद्यालयले छोटो अवधिमै हासिल गरेको प्रगति प्रति प्रशंसा व्यक्त गर्दै स्थानीय शिक्षा विकासमा यस्तो संस्थाको योगदान महत्वपूर्ण रहेको धारणा राखेका थिए।
कार्यक्रमभर अभिभावकहरूको सक्रिय उपस्थिति, विद्यार्थीहरूको आत्मविश्वासपूर्ण प्रस्तुति र व्यवस्थापनको सुव्यवस्थित तयारीले सम्पूर्ण वातावरणलाई भव्य र स्मरणीय बनाएको थियो।
