खेलकुद र पर्यटनको केन्द्र बन्दै ग्रिनसिटी, स्विमिङ पुलको शिलान्यास


shiva
Single Before Content Ad

इनरुवा, सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–७ स्थित ग्रिनसिटीमा आधुनिक खेलकुद तथा पर्यटन पूर्वाधार विस्तार गर्ने लक्ष्यसहित मिनी ओलम्पिकस्तरको स्विमिङ पुल निर्माण कार्य सुरु गरिएको छ। बुधबार आयोजित एक कार्यक्रमबीच स्विमिङ पुलको शिलान्यास गरिएको हो।

करिब पौने दुई करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त स्विमिङ पुल निर्माणको जिम्मेवारी नेपाल स्विमिङ पुल सोलुसन कम्पनीले लिएको छ। निर्माण कार्य आगामी असोज मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको जनाइएको छ।

डीएन ग्रुप अफ कम्पनीका सञ्चालक नेत्रप्रसाद चम्लागाईंले ग्रिनसिटीलाई आधुनिक, व्यवस्थित तथा सुविधासम्पन्न सहरका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत स्विमिङ पुल निर्माण सुरु गरिएको बताए। उनका अनुसार खेलकुद, स्वास्थ्य र मनोरञ्जनलाई एकैसाथ प्रवर्द्धन गर्ने उद्देश्यले अन्तर्राष्ट्रिय मापदण्डअनुसारको संरचना निर्माण गर्न लागिएको हो।

चम्लागाईंले ग्रिनसिटीलाई केवल आवासीय परियोजनामा सीमित नराखी खेलकुद, पर्यटन, शिक्षा, स्वास्थ्य तथा धार्मिक गतिविधिको केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताए। उनले स्विमिङ पुल निर्माणले युवाहरूलाई खेल क्षेत्रमा अवसर प्रदान गर्नुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा समेत महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

ग्रिनसिटीभित्र यसअघि नै २१० फिट अग्लो राष्ट्रिय झण्डा निर्माण भइसकेको छ भने धार्मिक पर्यटन प्रवर्द्धनका लागि पाथीभरा माताको मन्दिर निर्माण कार्य पनि अगाडि बढिरहेको छ। साथै विद्यालय, कलेज, अस्पताल, रिसोर्ट, सुपरमार्केट तथा रेस्टुरेन्टलगायतका सेवा–सुविधा विस्तार गर्ने योजना रहेको बताइएको छ।

स्वच्छ वातावरण, हरियाली र आधुनिक पूर्वाधारको समिश्रणमार्फत ग्रिनसिटीलाई प्रदेशकै आकर्षक गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिइएको छ। स्विमिङ पुल निर्माणको सुरुवातसँगै इनरुवा क्षेत्रमा आधुनिक खेलकुद पूर्वाधार थपिने र खेलकुदसँगै पर्यटन गतिविधिमा समेत टेवा पुग्ने अपेक्षा गरिएको छ।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार