शिव भट्टराई भोजपुरे/ मोरङको सुन्दरहरैचा स्थित पूर्वाञ्चल विश्वविद्यालयमा MBBS कक्षा संचालन भए सँगै अभिमुखिकरण तथा स्वागत कार्यक्रम सम्पन्न भएको छ।

मोरङको सुन्दरहरैचा स्थित गोठगाउँमा रहेको पूर्वाञ्चल विश्वविद्यालय स्कुल अफ मेडिसिनमा एमबीबीएस अध्ययनका लागि भर्ना भएका पहिलो ब्याचका ५० जना विद्यार्थीहरूलाई लक्षित गर्दै अभिमुखिकरण तथा “सेतो कोट” (White Coat) स्वागत कार्यक्रम आयोजना गरिएको छ।

मंगलबार भएको कार्यक्रममा नवआगन्तुक विद्यार्थीहरूलाई सेतो कोट प्रदान गर्दै चिकित्सा शिक्षा सुरु गर्ने यात्राको औपचारिक शुभारम्भ गरिएको थियो। कार्यक्रममा सहभागी विद्यार्थीहरूलाई विश्वविद्यालयको शैक्षिक प्रणाली, चिकित्सा शिक्षा तथा भविष्यको जिम्मेवारीबारे जानकारी गराइएको थियो।

कार्यक्रममा उप–कुलपति प्रा.डा. बिजुकुमार थपलियाले गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्दै दक्ष चिकित्सक उत्पादन गर्ने विश्वविद्यालयको लक्ष्य रहेको बताउनुभयो। त्यस्तै डिन डा. शैलेशमणि पोख्रेलले चिकित्सा क्षेत्रमा अनुशासन, समर्पण र सेवाभाव आवश्यक रहेको उल्लेख गर्नुभयो।कार्यक्रममा नगरप्रमुख केदार प्रसाद गुरागाईंले सुन्दरहरैचामा एमबीबीएस अध्ययन सुरु हुनु स्थानीयका लागि गर्वको विषय भएको बताउँदै यसले शिक्षा तथा स्वास्थ्य क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो।त्यसैगरी पूर्वाञ्चल विश्वविद्यालयको स्तर उन्नतिका लागि सुन्दरहरैचा नगरपालिकाको तर्फबाट साथ र सहयोग रहने बताएका छन्।

कार्यक्रममा सहभागी नवआगन्तुक विद्यार्थीहरूले चिकित्सा शिक्षा केवल पेशा मात्र नभई समाजप्रतिको सेवा र जिम्मेवारी भएको उल्लेख गर्दै अध्ययनलाई मेहनत र अनुशासनका साथ अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन्। साथै, भविष्यमा दक्ष र जिम्मेवार चिकित्सक बनेर देश तथा समाजको स्वास्थ्य सेवामा योगदान पुर्याउने लक्ष्य रहेको बताएका छन्।
एमबीबीएस कार्यक्रम सुरु भएसँगै सुन्दरहरैचाबासीका लागि यो ऐतिहासिक र गौरवपूर्ण क्षण बनेको छ।

डा रोस्ना पौडेल र डा एलिना तिवारीले संचालन गरेको कार्यक्रममा पुर्वान्चल विश्वविद्यालयका रजिस्ट्रार डा. कल्याणी मिश्र त्रिपाठी, विश्वविद्यालयका डिन प्रो.डा.सतिस देव, प्रो डा भोलानाथ घिमिरे, डा सन्देश दास श्रेष्ठ, डा. कोमल प्रसाद दुलाल, प्रो डा पवन कुमार झा, सिनेटसदस्य लगायतले शुभकामना व्यक्त गर्दै एमबीबीएस अध्ययन सुरु हुनु सुन्दरहरैचा तथा समग्र प्रदेशकै लागि गौरवको विषय भएको बताएका छन्।चिकित्सा शास्त्र संकायका डीन डा शैलेशमणि पोखरेल को सभापतित्वमा सम्पन भएको उक्त कार्यक्रममा उहाँले पूर्वान्चल विश्वविद्यालयमा एम बि बि एस कार्यक्रम स्वीकृतको लागि पहल गर्नु हुने सम्पुर्ण महानुभाबहरु, संघ, सस्था लाई विशेष धन्यवाद दिनुभएको थियो |
