प्रविधिमैत्री शिक्षा झल्काउने ब्राइट फ्युचरको ३४औँ अभिभावक दिवस सुरु


Single Before Content Ad

मोरङको सुन्दरहरैँचा–८ स्थित ब्राइट फ्युचर सेकेण्डरी स्कुलमा ३४औँ अभिभावक दिवस तथा शैक्षिक प्रदर्शनी बुधबारदेखि सुरु भएको छ। विद्यालय परिसरमा आयोजित कार्यक्रम विविध शैक्षिक, प्रविधिमैत्री तथा सिर्जनात्मक गतिविधिसहित सम्पन्न भइरहेको छ।

कार्यक्रमका प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का केन्द्रीय अध्यक्ष कृष्णप्रसाद अधिकारीले निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रवाहमा महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरे। उनले शिक्षा क्षेत्रमा नवप्रविधिको प्रयोगलाई अझ विस्तार गर्नुपर्ने आवश्यकता औँल्याउँदै विद्यार्थीलाई सिर्जनात्मक र व्यवहारिक शिक्षा दिन यस्ता कार्यक्रमले ठूलो योगदान पुर्‍याउने बताए। साथै अभिभावक, शिक्षक र विद्यालयबीचको सहकार्यले मात्र शिक्षाको गुणस्तर थप मजबुत हुने उनको भनाइ थियो।

विद्यालयका संस्थापक प्रिन्सिपल तथा प्याब्सन केन्द्रीय कार्यसमितिका उपाध्यक्ष टिकाराम ढकालको सभाध्यक्षतामा  सम्पन्न कार्यक्रममा विद्यार्थीहरूले विज्ञान प्रदर्शनी, सांस्कृतिक नृत्य, गायन तथा अन्य सिर्जनात्मक प्रस्तुति दिएका थिए। कार्यक्रममा रोबोटमार्फत अतिथिहरूलाई स्वागत तथा उद्घाटन गरिएको दृश्य कार्यक्रमको मुख्य आकर्षण बनेको थियो, जसले प्रविधिमैत्री शिक्षाको झल्को दिएको थियो।

विद्यालयकी शिक्षिका कविता पाँचकोटीले सञ्चालन गरेको कार्यक्रममा विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा ट्रफी प्रदान गरी सम्मान गरिएको थियो।

कार्यक्रम अन्तर्गत आयोजित शैक्षिक प्रदर्शनीमा विद्यार्थीहरूले तयार पारेका विज्ञानका नमुना, प्रोजेक्ट, हस्तकला तथा अन्य शैक्षिक सामग्री प्रदर्शन गरिएको थियो। प्रदर्शनी अवलोकनका लागि अभिभावक तथा आगन्तुकहरूको उल्लेखनीय उपस्थिति रहेको विद्यालयले जनाएको छ। साथै कार्यक्रममा सांस्कृतिक प्रस्तुति, मोबाइल प्रयोगसम्बन्धी सन्देशमूलक नाटक, गायन तथा नृत्य पनि प्रस्तुत गरिएको थियो।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्ड विराटनगरका कार्यालय प्रमुख प्रकाशकुमार खरेल, ब्राइट फ्युचर एजुकेशनल फाउण्डेशन प्रा.लि.का अध्यक्ष भोलेश्वर दुलाल, एन–प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनाल, ब्राइट फ्युचरका सञ्चालक तथा सुन्दरहरैँचा नगरपालिकाका निवर्तमान मेयर शिवप्रसाद ढकाल लगायतले विद्यालयको प्रगति र सफलताको कामना गर्दै शुभकामना व्यक्त गरेका थिए।

त्यसैगरी कार्यक्रममा प्याब्सन मोरङका अध्यक्ष जगत बस्नेत, सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष थानेश्वर ढकाल, ब्राइट फ्युचर स्कुलका सञ्चालकहरू गोपाल कार्की, गोपालप्रसाद ढकाल, कृष्णप्रसाद ढकाल तथा प्याब्सन बेलबारीका अध्यक्ष भगवतीप्रसाद घिमिरे लगायत शिक्षा क्षेत्रमा आबद्ध व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

विद्यालयका अनुसार ३४औँ वार्षिकोत्सव तथा अभिभावक दिवस अन्तर्गतका कार्यक्रम भोलि समापन समारोहसहित सम्पन्न हुने छन्।

Single After Content Ad
Single End Content Ad
Single Sidebar Ad1
Single Sidebar Ad2
Single Sidebar Ad3
Single Sidebar Ad4

सम्बन्धित समाचार